परासी । गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले तामझामसाथ उद्घाटन गरेको सुस्ताको विद्युत् प्रसारण लाइन काटिएको छ । नेताहरूले बिजुली छूट दिने आश्वासन दिएकाले स्थानीयले विद्युत् कार्यालयमा मिटर जडानको राजस्व तिर्न नमान्दा नारायणी नदीपारिको सुस्तामा झोलुंगे पुल हुँदै लगिएको विद्युत् प्रसारण लाइन काटिएको हो ।

त्यतिवेला रास्ट्रपति नै उपस्थित उद्घाटन कार्यक्रममा ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री दीपक खड्काले पनि एक वर्षसम्म न्यूनतम महसुल छूट हुने र सांसद विनोद चौधरीले सुस्ताबासीका लागि एक वर्षका लागि निःशुल्क बिजुली उपलब्ध गराउन आग्रह गर्ने आश्वासन पनि दिनुभएको थियो । उक्त आश्वासन पाएपछि स्थानीय सुस्ताबासी खुसी भए ।
तर भारतीय अतिक्रमणको चपेटामा परेको सुस्तामा पुलमार्फत बिजुली पुर्याउँदा खुसी भएका स्थानीय अहिले बिजुली लाइन नै काटिँदा निराश भएका छन् ।
लामो समयपछि गाउँमा बिजुली पुगेर पनि उपयोग गर्न नपाएको गुनासो लिएर सुस्ता बचाउ अभियानका अभियन्ता मुन्ना खाँ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पनि पुग्नुभएको थियो ।
सुस्तामा बसोबास गर्ने ३ सय ५० परिवारमध्ये १ सय ८५ को मात्र नागरिकता र जग्गाधनी पुर्जा छ । नागरिकता नभएकालाई विद्युत्को मिटर दिन नमिल्ने भएपछि नागरिकताबिना मिटर जडान गरिदिनुपर्ने उहाको माग छ । सुस्तामा १ हजार ५ सय ७१ मिटर लम्बाइको नारायणी नदीमा झोलुंगे पुल निर्माण भएपछि सोहीमार्फत बिजुली पुर्याइएको हो ।


