चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरु भएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा सुनुवाई भइरहेको छ। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रविको बयान आजै सकिएमा थुनछेक बहस हुने जानकारी दिनुभएको छ ।

उक्त सहकारीको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको थियो। व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ।
यसैविच साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी रास्वपा सभापति लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले बताउनुभयो ।
लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताउनुभएको थियो ।
नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ ।



