सुनवलमा विशेषज्ञ सेवासंग ‘निदान पोलिक्लिनिक’ सञ्चालन, स्थानीयलाई बुटवल-भैरहवा धाउनुपर्ने बाध्यता हट्ने
परासी — पश्चिम नवलपरासीको सुनवलमा विशेषज्ञ स्वास्थ्य सेवासहितको ‘निदान पोलिक्लिनिक’ सञ्चालनमा आएको छ। सुनवल नगरपालिका–४ स्थित पूर्व-पश्चिम राजमार्ग नजिकै रहेको सुनवल चोकमा दसैँको घटस्थापनाको अवसर पारेर आइतबारदेखि उक्त पोलिक्लिनिकको औपचारिक शुभारम्भ गरिएको हो।
स्थानीयस्तरमै पोख्त र विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष उपस्थितिमा भरपर्दो निदान तथा उपचार सेवा पुर्याउने उद्देश्यका साथ पोलिक्लिनिक स्थापना गरिएको हो। यहाँबाट दैनिक बिरामी जाँच्ने ओपिडी (OPD) सेवाका साथै आपत्कालीन अवस्थाका लागि आकस्मिक (इमर्जेन्सी) सेवासमेत सञ्चालन गरिएको छ।
बिरामीहरूलाई छिटोछरितो र सहज ढङ्गले स्वास्थ्य सेवा प्रदान गर्न क्लिनिक प्रतिबद्ध रहेको पोलिक्लिनिकका अध्यक्ष मनोज न्यौपानेले बताए। उनका अनुसार विशेषज्ञ रेडियोलोलोजिस्टको निगरानीमा भिडियो एक्स-रे, ई.सी.जी. मार्फत मुटुको जाँच, तथा सामान्यदेखि विशिष्टीकृत ल्याब (प्रयोगशाला) परीक्षणका सुविधाहरू उपलब्ध गराइएको छ।
यसैगरी, पोलिक्लिनिकबाट जनरल होल बडी चेकअप, घाउको ड्रेसिङ, टाँका लगाउने तथा प्लास्टर गर्ने, नेबुलाईजेसन, मेडिकल फिट सर्टिफिकेट वितरण र सहुलियत मूल्यमा गुणस्तरीय औषधिका लागि फार्मेसी सेवासमेत सञ्चालनमा ल्याइएको अध्यक्ष न्यौपानेले जानकारी दिए।
सामान्य तथा जटिल प्रकृतिका उपचारका लागिसमेत स्थानीय बासिन्दाहरू बुटवल वा भैरहवा धाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब सो समस्याको समाधान हुने सञ्चालक पक्षको विश्वास छ। साथै, शुभारम्भ तथा दसैँको अवसर पारेर पोलिक्लिनिकले सुरुवाती दिनहरूमा उपचार एवं परीक्षणमा बिरामीहरूका लागि विशेष छुटको व्यवस्थासमेत मिलाएको जनाएको छ।

