सुनवल/ भाइटिकाको दिन नवलपरासीको सुनवलमा ठेला व्यवसायीमाथि दुर्व्यवहार र फूलमालामा क्षति पुर्याएको आरोपमा सुनवलका ब्यवसायी मोहन क्षेत्री पक्राउ परेका छन।
ठेला व्यवसायीले भारतीय फूलमाला तथा प्लास्टिकजन्य सामग्री बिक्री गरेको भन्दै आक्रोशित भएका क्षेत्रीले उनीहरूको फूलमाला सडकमा फ्याँकेर क्षति पुर्याएको भन्दै सुनवल प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
सुनवल बजार क्षेत्रमा ठेलामा राखेर सयपत्री फूल र केही प्लास्टिकका माला समेत बिक्री गरिरहेको अवस्थामा एक्कासि फूलमाला सडकमा फ्याँकिएपछि ठेला व्यवसायी र स्थानीय व्यवसायी बीच झड़प भएको थियो।
घटनाको हालसम्म कुनै जाहेरी प्राप्त नभए पनी संजालमा देखिएको दृश्यका आधारमा क्षेत्रीलाई पक्राउ गरिएको र जाहेरी प्राप्त भएमा सोही बमोजिम कारबाही प्रक्रिया अगाडि बढाईने इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख लक्ष्मण देवकोटाको भनाई छ।
श्रोतका अनुसार ठेला व्यवसायी भने जाहेरी नदिने र आपसी सहमतिमै समस्याको समाधान गर्ने पक्षमा रहेको बताइएको छ।
पक्राउ परेका क्षेत्री सुनवल चोकमा “मोहन जर्नल स्ट्रोस” का संचालक हुन । यो अवैध ठेका ब्यावसायको घटना एवं सुनवल उद्योग वाणिज्य सङ्घको समेत भूमिकालाई लिएर सामाजिक सञ्जालमा पक्ष-विपक्षमा टिप्पणी भइरहेको छ।
