६ मंसिर २०८३, आइतवार

बर्दघाटमा मेंटर शिक्षक तालिम: विद्यालयमै तहगत शिक्षक सहयोग प्रणाली लागु गर्ने प्रयास ।

बर्दघाट, मंसिर ५
सामुदायिक विद्यालयमा सहयोगात्मक शिक्षण विधिको प्रयोग विस्तार गर्दै शिक्षकको निरन्तर पेशागत विकास र विद्यार्थीको गुणस्तरीय सिकाइ प्रवर्द्धन गर्ने उद्देश्यले बर्दघाट नगरपालिकामा पाँच दिने मेंटर शिक्षकतालिम सुरु भएको छ।
समृद्ध समुदाय विकास केन्द्र, नेपाल (SCDC Nepal) को आयोजनामा, बर्दघाट नगरपालिकाको समन्वय तथा Skoleliv i Nepal, Denmark को साझेदारीमा राष्ट्रिय माध्यमिक विद्यालय, बर्दघाट-७ मा सुरु भएको तालिम मंसिर ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ।
तालिम उद्घाटन कार्यक्रम समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षता, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसालको विशिष्ट आतिथ्यता मा सम्पन्न भएको हो। तालिम सञ्चालन भइरहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शेषकान्त पौड्याल कार्यक्रममा अतिथिका रूपमा सहभागी थिए।
तालिमका प्रमुख प्रशिक्षक नेपाल सरकारका पूर्व सहसचिव गिरमान थापा रहेका छन्। पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहयोगात्मक शिक्षण विधि, बालकेन्द्रित सिकाइ, कक्षा व्यवस्थापन, कक्षा अवलोकन, रचनात्मक पृष्ठपोषण, शिक्षकबीच सहकार्य, विद्यार्थीको फरक सिकाइ आवश्यकता पहिचान तथा सहकर्मी शिक्षकलाई पेशागत सहयोग गर्ने विधिमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइनेछ।
कार्यक्रमको उद्देश्य तथा मेंटर शिक्षकप्रणालीको अवधारणाबारे प्रकाश पार्दै SCDC Nepal का निर्देशक युवराज चापागाईंले शिक्षक क्षमता विकासलाई एकपटकको तालिममा सीमित नराखी विद्यालय र कक्षाकोठामै निरन्तर पेशागत सहयोग उपलब्ध गराउने प्रणाली विकास गर्न मेंटर शिक्षकअवधारणा अघि बढाइएको बताए।
उनले मेंटर शिक्षकशिक्षकको कमजोरी खोज्ने निरीक्षक नभई सहयोगी, सहकर्मी र सिकाइको सहयात्री हुने उल्लेख गरे। विद्यार्थीको सिकाइमा देखिएका कठिनाइ पहिचान गर्ने, फरक सिकाइ स्तरलाई सम्बोधन गर्ने, कक्षाकोठामा सहयोगात्मक विधिको प्रयोग बढाउने र एउटा शिक्षकको प्रभावकारी अभ्यास अर्को शिक्षकसम्म पुर्‍याउने काममा मेंटर शिक्षकको महत्वपूर्ण भूमिका रहने उनले बताए।

तालिम ज्ञान थप्ने मात्र होइन, व्यवहारमा परिवर्तन ल्याउने माध्यम बन्नुपर्छ।
कार्यक्रमका अध्यक्ष तथा SCDC Nepal का अध्यक्ष ठाकुर घिमिरेले शिक्षक शिक्षा सुधारको केन्द्रमा रहने भएकाले तालिमबाट प्राप्त ज्ञान र सीप कक्षाकोठाको वास्तविक अभ्यासमा देखिनुपर्नेमा जोड दिए।
उनले कुनै पनि परियोजना वा तालिमको सफलता कार्यक्रम सम्पन्न भएको सङ्ख्याले मात्र नदेखिने उल्लेख गर्दै शिक्षकको व्यवहारमा आएको सकारात्मक परिवर्तन र त्यसबाट विद्यार्थीको सिकाइमा देखिने सुधार नै वास्तविक उपलब्धि हुने बताए।
घिमिरेले मेंटर शिक्षकप्रणालीले विद्यालयभित्रै शिक्षकले शिक्षकलाई सिकाउने, अनुभव बाँड्ने र समस्या पर्दा एकअर्कालाई सहयोग गर्ने संस्कृतिको विकास गर्ने विश्वास व्यक्त गरे। बाह्य सहयोग सधैँ रहिरहन नसक्ने भएकाले विद्यालयभित्रै उपलब्ध ज्ञान, अनुभव र नेतृत्वलाई प्रयोग गर्दै स्थानीय स्वामित्वमा टिकाउ शिक्षक सहयोग प्रणाली निर्माण गर्नु परियोजनाको महत्वपूर्ण उद्देश्य रहेको उनले बताए।
हथौडाले प्रहार गर्छ, चाबीले भित्रबाट खोल्छ ।
कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ‘चाबी र हथौडा’ को प्रसङ्गमार्फत शिक्षण र मेंटरिंग को अर्थलाई सरल ढङ्गले प्रस्तुत गरे।
उनले एउटा बन्द ताल्चालाई उदाहरण दिँदै भने —हथौडाले ताल्चामाथि पटक-पटक बाहिरबाट प्रहार गर्न सक्छ, तर त्यसले ताल्चा सहज रूपमा खोल्न सक्दैन। सानो चाबी भने ताल्चाभित्र पस्छ, उसको संरचना बुझ्छ र ठीक ठाउँमा घुमेपछि ताल्चा खुल्छ।
उपाध्यायले यही प्रसङ्गलाई शिक्षा र शिक्षक सहयोगसँग जोड्दै विद्यार्थी वा शिक्षकलाई बाहिरबाट दबाब, आदेश वा आलोचना मात्र गरेर अपेक्षित परिवर्तन ल्याउन कठिन हुने बताए। उनीहरूको अवस्था, कठिनाइ र आवश्यकता बुझेर भित्रसम्म पुग्न सकियो भने परिवर्तन सहज हुन सक्ने उनको भनाइ थियो।
उनले मेंटर शिक्षकलाई हथौडा जस्तो बाहिरबाट दबाब दिने भूमिकाभन्दा चाबी जस्तो शिक्षकको समस्या बुझ्ने, विश्वास निर्माण गर्ने र समाधानको बाटो खोल्न सहयोग गर्ने व्यक्तिका रूपमा विकास हुनुपर्ने धारणा राखे।
“कुनै शिक्षकले अपेक्षित अभ्यास गर्न नसक्दा पहिले किन सकेन भनेर बुझ्नुपर्छ। सहयोग र विश्वासबाट आएको परिवर्तन धेरै दिगो हुन्छ,” भन्ने भावमा उनले सहभागी मेंटर शिक्षकलाई सहकर्मी शिक्षकसँग सम्मानजनक र सहयोगात्मक सम्बन्ध निर्माण गर्न आग्रह गरे।
प्रत्येक विद्यालयमा तहगत मेंटर शिक्षक
बर्दघाट नगरपालिकाले स्थानीय शिक्षा प्रणालीमै मेंटर शिक्षकसहयोग प्रणाली संस्थागत गर्ने उद्देश्यले मेंटर शिक्षकसञ्चालन कार्यविधिअनुसार प्रत्येक विद्यालयबाट तहगत रूपमा शिक्षक सिफारिस गर्ने तथा उनीहरूको चरणबद्ध क्षमता विकास गर्ने प्रक्रिया अघि बढाएको छ।
पहिलो चरणमा नगरभित्रका विद्यालयबाट सिफारिस भएका प्राथमिक तहका मेंटर शिक्षकहरू पाँच दिने तालिममा सहभागी भएका छन्। यसपछि क्रमशः निम्न माध्यमिक तथा माध्यमिक तहका मेंटर शिक्षकहरूका लागि पनि छुट्टाछुट्टै चरणमा तालिम सञ्चालन गरिने जनाइएको छ।
यसरी प्रत्येक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहअनुसार मेंटर शिक्षकविकास गरी सम्बन्धित तहका शिक्षकलाई विद्यालयमै निरन्तर पेशागत सहयोग उपलब्ध गराउने संरचना निर्माण गर्ने नगरपालिकाको योजना छ।
नगरपालिका तथा आयोजकका अनुसार स्थानीय कार्यविधिमार्फत प्रत्येक विद्यालयमा तहगत मेंटर शिक्षकसहयोग प्रणाली अवलम्बन गर्ने बर्दघाटको प्रयास नेपालका स्थानीय तहहरूमध्ये प्रारम्भिक तथा अग्रणी अभ्यासमध्ये एक हो।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले विद्यालयको गुणस्तर सुधारमा शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै मेंटर शिक्षकप्रणालीलाई नगरपालिकाको दीर्घकालीन शैक्षिक सुधारसँग जोडेर लैजाने बताए। तालिममा सिकिएका विषय कक्षाकोठा र विद्यार्थीको सिकाइमा देखिन सके मात्र यसको सार्थकता पुष्टि हुने उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसालले शिक्षा क्षेत्रमा गरिने लगानीको प्रभाव विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयको कार्यसम्पादनमा देखिनुपर्ने बताउँदै मेंटर शिक्षकप्रणालीलाई व्यवस्थित, नतिजामुखी र निरन्तर बनाउँदै लैजानुपर्नेमा जोड दिए।
तालिम “बर्दघाटमा गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता” परियोजनाअन्तर्गत सञ्चालन भएको हो। परियोजनाले शिक्षक क्षमता विकास, सहयोगात्मक सिकाइ, मेंटर शिक्षकसहयोग प्रणाली, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, विद्यालय सुशासन तथा अभिभावक र समुदायको सहभागितालाई प्राथमिकतामा राखेको छ।
आयोजकका अनुसार पाँच दिने तालिमपछि मेंटर शिक्षकहरू विद्यालयमा फर्केर सहकर्मी शिक्षकसँग नियमित संवाद, कक्षा अवलोकन, अनुभव आदानप्रदान तथा आवश्यकता आधारित सहयोगमा संलग्न हुनेछन्। यस प्रक्रियालाई नियमित अनुगमन, अनुभव आदानप्रदान र थप क्षमता विकाससँग जोड्दै विद्यालयमै आधारित दिगो शिक्षक सहयोग प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार