ललितपुर, — राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का भेटेरिनरी प्राविधिक किरणराज रिजाललाई ‘चौथो जेभियर एकेडेमी संरक्षण पुरस्कार २०२६’ बाट सम्मानित गरिएको छ। वन्यजन्तुको स्वास्थ्य, रोग निगरानी (डिजिज सर्भिलेन्स) तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । संरक्षणविद् बब र ज्याङ डोबियासको सहयोगमा स्थापित यस पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ।
सोही अवसरमा जेभियर एकेडेमीले कक्षा ११ विज्ञान संकायमा अध्ययनरत छात्रा निसासा लिनलाई ‘गर्ल्स स्कलरसिप’ (छात्रा छात्रवृत्ति) प्रदान गरेको छ । करिब ५ लाख रुपैयाँ बराबरको उक्त पूर्ण छात्रवृत्तिले उहाँको कक्षा ११ र १२ दुवै वर्षको सम्पूर्ण शैक्षिक खर्च बेहोर्नेछ ।
आगामी पाँच वर्षमा नेपालका प्रमुख वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न चाल्नुपर्ने मुख्य कदमहरू विषयक विशेष प्यानल छलफल तथा समारोहका बीच हिजो शनिबार (नोभेम्बर २१, २०२६) खुमलटारस्थित एनटीएनसीको सभाहलमा उक्त पुरस्कार वितरण गरिएको हो।
कार्यक्रमको पहिलो सत्रमा प्रा. डा. प्रमोदबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने माननीय दासो पाल्जोर जिग्मे दोर्जीले मुख्य वक्ता (किनोट स्पिकर) का रूपमा सम्बोधन गर्नुभएको थियो। रोबर्ट जे. डोबियासले सहजीकरण गर्नुभएको प्यानल छलफलको निष्कर्ष प्रा. डा. श्रीराम भगत माथेले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा पुरस्कार घोषणासँगै बब र ज्याङ डोबियास, माननीय दासो पाल्जोर जिग्मे दोर्जी, निर्णायक मण्डलका सदस्यहरू तथा पुस्तक सम्पादकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। सोही अवसरमा एकेडेमीद्वारा प्रकाशित ‘फर्स्ट जेभियर एकेडेमी कन्जर्भेसन क्रोनिकल – वाकिङ टुगेदरः बब एन्ड ज्याङ्स इन्स्पाइरिङ जर्नी विथ जेभियर एकेडेमी’ पुस्तकको समेत विमोचन गरिएको थियो।
समारोहमा अतिथि वक्ताका रूपमा अन्जु देओस्करले आफ्नो धारणा राख्नुभएको थियो भने प्रा. डा. श्रीराम भगत माथेले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो। जेभियर एकेडेमी तथा काठमाडौँ डन बोस्को कलेजकी प्रिन्सिपल/निर्देशक रश्मी शर्मा मैनालीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम उहाँकै धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो।
