चितवन । विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान आज देखी सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरमा रहेको शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ का स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नुभएको हो ।

खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय जना किशोरीलाई खोप लगाइने छ ।किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि आजदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने छ । अभियानअन्तर्गत चितवनमा साढे ३१ हजार किशोरीहरुलाई एचपीभी खोप दिइँदै छ ।
हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्र पनि तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको छ ।



