काठमाडौँ । गत चैत १५ मा तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ।

उनीहरूलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
चैत १५ गते भएको उक्त घटनामा उनीहरूलाई पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ । ८५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेकामा २१ जना हाजिरी जमानीमा छुटेकाले अहिले ६४ जनामाथि अनुसन्धान भइरहेको छ ।
त्यसमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए ।



