३१ भदौ २०८३, बुधबार

आजबाट बर्खे अधिवेशन, निजामती र शिक्षा विधेयक पारित हुने अपेक्षा

काठमाडौँ । संघीय संसद्को बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदन (प्रतिनिधिसभा,राष्ट्रियसभा) को अधिवेशन आज शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ। तर एउटा अधिवेशन सकिएको मितिबाट अर्को सुरु हुँदासम्मको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधानअनुसार यो अधिवेशन बोलाइएको हो।

गत चैत १८ गते सम्पन्न हिउँदे अधिवेशनपछि संसद्को यो पहिलो बैठक हो। संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा अधिवेशन आह्वान र मन्त्रिपरिषदमा भएको हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको जानकारी गराइनेछ।

साथै, विभिन्न राजनीतिक दलका नेताहरूले पहिलो बैठकमा सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद्मा सम्बोधन गर्ने तयारी भएको जानकारी प्राप्त भएको छ।

आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ संसद्मा प्रस्तुत गर्ने सम्भावना छ। यो विधेयक बजेटअगावै संसद्मा प्रस्तुत हुन लागेको महत्वपूर्ण आर्थिक विधेयकमध्ये एक हो।

बर्खे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। यही अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत तथा पारित गरिन्छ। संविधान अनुसार जेठ १५ गते अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।

यसअघि वैशाख १९ गते राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममार्फत संघीय संसद्लाई सम्बोधन गर्नुहुनेछ । संसद् सचिवालयले वैशाख २८ गतेदेखि प्री–बजेट छलफल सुरु गर्ने तयारी गरेको छ।

बजेट अघि ‘विनियोजन विधेयक’का सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुनेछ। यस अधिवेशनमा लामो समयदेखि प्रतीक्षित रहेको संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयकहरू पारित हुने अपेक्षा गरिएको छ। यी विधेयकहरू संघीय शासन प्रणाली कार्यान्वयनमा ल्याउन अपरिहार्य मानिएका छन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार