२३ कार्तिक २०८३, सोमवार

नवलपरासीका चिनी मिल किसानमारा देखिए: दसै तिहार-बेला भयो रित्तो हात !

सुनवल /कार्तिक २२

नेपालीको घर आगनमा बर्ष दिनमा एक पटक आएको तिहार र छठजस्ता ठूला चाडपर्वहरू घरआँगनमा नजिकिदै गर्दा चीनी मिल सञ्चालकका कारण नवलपरासीका उखु किसानका आँखा हर्षले होइन, चिन्ता र दुःखी मनले टोलाई रहेका छन् ।

दिनरात खेतमा पसिना बगाएर उत्पादन गरेको उखु चिनी मिललाई बुझाएको वर्षौँ बितिसक्दा पनि भुक्तानी नपाएपछि यहाँका किसान परिवार यो वर्षको चाडबाडमा समेत रित्तो हात बस्न बाध्य भएका छन्।
चाडपर्वका बेला नयाँ लुगा, घरखर्च, बालबच्चाको पढाइ र औषधोपचार त परै जाओस्, साहुको ऋण र बैंकको ब्याज कसरी तिर्ने भन्ने पिरलोले किसानलाई गाँजेको छ । सधैँझैँ यो वर्ष पनि पर्वको खुसी होइन, उखु किसानको घरमा आर्थिक सङ्कट र मानसिक तनावले डेरा जमाएको छ।

नवलपरासी प्रतापपुर स्थित इन्दिरा सुगर मिल र सुनवलस्थित लुम्बिनी चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने भुक्तानी समयमा नदिएर किसानहरूलाई चाड पर्वमा समेत निराश बनाएका छन् । उद्योगीहरूको गैरजिम्मेवार र अमानवीय व्यवहारका कारण किसानहरू चाडपर्वको मुखमा थप पीडामा पर्नुपरेको नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवको गुनासो छ ।

चिनी उद्योगहरूले लामो समयदेखि किसानको बक्यौता रकम भुक्तानी नगरी किसानलाई गम्भीर आर्थिक सङ्कटमा पारेको बताउनुभएको छ । यादबका अनुसार नवलपरासीको प्रतापपुरस्थित इन्दिरा सुगर मिलले विगत वर्षदेखि किसानको करिब सात करोड रुपियाँ भुक्तानी गरेको छैन । मिल विगत दुई वर्षदेखि पूर्ण रूपमा बन्द छ भने सञ्चालक राकेश अग्रवाल किसानको रकम नदिई सम्पर्कविहीन छन् ।
कानुनी कारबाहीका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार सञ्चालक अग्रवालविरुद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमै ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको छ । मिल सञ्चालक हाल भारतमा बस्दै आएकाले सम्पर्कमा नआएको र प्रहरीले तोकिएको समयभित्रै अनुसन्धान पूरा गरी मुद्दाको फाइल जिल्ला अदालत पठाउने तयारी गरिरहेको जानकारी पौडेलले दिनुभयो ।
उता पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगको भने किसानलाई दिनुपर्ने बक्यौता रकम उल्लेख्य रूपमा घट्दै गएको देखिन्छ । उद्योगले आर्थिक वर्ष २०७९/८० को करिब ७५ लाख र गत वर्षको करिब १० देखि १२ लाख रुपियाँ गरी कुल ८५ देखि ८७ लाख रुपियाँ मात्र किसानलाई तिर्न बाँकी रहेको जनाएको छ । उद्योगका कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार उक्त बाँकी बक्यौता रकम यस वर्षको मिल सञ्चालन हुनुभन्दा अगावै भुक्तानी गरिसक्ने गरी मिलले तयारी गरिरहेको छ।
माटोमा पसिना बगाएर उब्जाएको ‘नगदे बाली’ अहिले पश्चिम नवलपरासीका किसानका लागि ‘उधारो र दुःखद् बाली’ बनेको छ। जिल्ला प्रशासनको ढोकादेखि काठमाडौँको माइतीघर मण्डलसम्म चिसो भुइँमा बसेर आन्दोलन गर्दा पनि राज्यले ठोस कदम नचालेको किसानहरूको गुनासो छ । फरार तथा गैरजिम्मेवार चिनी मिल सञ्चालकको सम्पत्ति लिलाम गरेर भए पनि चाडबाडको यो समयमा पसिनाको मूल्य दिलाउन किसानहरूले सरकारसँग जोडदार माग गरेका छन् ।
नवलपरासी (बर्द्धघाट सुस्ता पश्चिम) मा साना-ठूला गरी मुख्यतया चार वटा चिनी उद्योग रहेका छन्। तीमध्ये मोहिनी सुगर मिल र इन्दिरा सुगर मिल लामो समयदेखि पूर्ण रूपमा बन्द अवस्थामा छन् । हाल वाग्मती चिनी उद्योग र लुम्बिनी चिनी उद्योग मात्र आंशिक तथा मौसमी रूपमा सञ्चालनमा आउने गरेका छन् ।
कुनै समय वार्षिक ३० देखि ४५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने पश्चिम नवलपरासीमा भुक्तानीको झन्झट, उद्योगीको ठगी र लागत नउठ्ने समस्याका कारण किसानहरू केरा, तरकारी तथा अन्य वैकल्पिक खेतीतर्फ आकर्षित हुँदै गएका छन्। फलस्वरूप, हाल जिल्लामा वार्षिक करिब १५ देखि १८ लाख क्विन्टल मात्र उखु उत्पादन हुने गरेको छ। उत्पादनमा भारी गिरावट आएपछि सञ्चालनमा रहेका उद्योगहरूलाई समेत आवश्यक उखुको अभाव हुन थालेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार