पुरुषोत्तम सुवेदी/ नवलपरासी/कात्तिक २४
चाडपर्वका बेला बजारमा बढ्दै गएको फूलको माग र स्वदेशी उत्पादनका बिच सेवा निर्बृत्त जीवन पछीको आर्थिक आवश्यकता परिपूर्ति एवं कृषि उत्पादनलाई टेवा पुर्याऊने उद्देश्यले पश्चिम नवलपरासीका एक पूर्ब उपसचिप फूल खेतीको क्षेत्रमा लागेका छन ।
नेपाल सरकारका वरिष्ठ डिभिजन इन्जिनियर तथा लुम्बिनी प्रदेश सरकारको सिँचाइ महाशाखा प्रमुखबाट अवकाश प्राप्त उपसचिव ( कर्मचारी ) धुर्ब पौडेल र होटल व्यवसायी नारायण न्यौपानेले संयुक्त लगानीमा सुनवल नगरपालिका–११, मिश्रौलीमा सुरु गरेको फूल खेतीले अत्यधिक राम्रो बजार पाउनुका साथै लोभलाग्दो सफलता हासिल गरेको छ।
एकीकृत कृषि प्रणालीको दूरगामी उद्देश्यसहित उहाँहरूले ६ बिगाहा जग्गा भाडामा लिएर यस फार्मको थालनी गर्नुभएको थियो । यसपटक पहिलो गरिएको सयपत्री फूल खेतीले अत्यधिक राम्रो बजार पाउनुका साथै लोभलाग्दो सफलता हासिल गरेको छ।
लामो समय सरकारी सेवा (सिँचाइ इन्जिनियर) मा बिताएर अवकाशप्राप्त गर्नुभएका पौडेलले कृषि क्षेत्रमा आफू जोडिनुको कारण र फूल खेतीको अनुभवबारे आफ्नो भनाइ यसरी राख्नुहुन्छ:”म नेपाल सरकारको वरिष्ठ डिभिजन इन्जिनियर पदबाट र लुम्बिनी प्रदेशको सिँचाइ महाशाखा प्रमुखबाट अवकाश प्राप्त कर्मचारी हुँ। ३०–३५ वर्ष सरकारी सेवामा बिताएपछि, अवकाशप्राप्त जीवनलाई देशको सेवा र उत्पादनसँग जोड्ने सोच बनाएँ। सरकारले पनि पछिल्लो समय स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने नीति लिएको छ। तिहार वा अन्य चाडपर्वमा बाहिरबाट आयात हुने फूललाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई महत्त्व दिनुपर्छ भन्ने उद्देश्यले हामीले यो क्षेत्र रोजेका हौ ।
हामीले ६ बिगाहा जग्गा भाडामा लिएर भविष्यमा एकीकृत कृषि गर्ने दीर्घकालीन योजनाका साथ यो काम थालेका हौं। पहिलो पटकको ट्रायलस्वरूप १५ कट्ठामा गरिएको सयपत्री फूल खेती अत्यन्तै सफल भएको छ। लक्ष्मीपूजा सम्म ८ –१० क्विन्टल फूल र १५ सयभन्दा बढी मालाहरू बिक्री भइसकेका छन् भने तिहारको दिनसम्म माग धान्न गाह्रो पर्ने अवस्था देखिएको छ। यसले हामीलाई आर्थिक लाभ मात्र होइन, आफ्नै गाउँको माटोमा पसिना बगाउँदा निकै ठूलो आत्मसन्तुष्टि र आनन्द दिएको छ। आगामी दिनमा यसलाई अझ ठूलो स्केलमा विस्तार गर्ने हाम्रो योजना छ।”
बजार व्यवस्थापन र समग्र कृषिको कार्यभार सम्हालिरहनु भएका होटल व्यवसायी समेत रहनुभएका नारायण न्यौपाने यस व्यावसायिक सहकार्य र स्थानीय बजारको अवस्थाबारे बताउनुहुन्छ : “हामीले ‘रिभर साइड एग्रो भिलेज एण्ड रिसोर्ट प्रालि’को नाममा यो एकीकृत कृषि फर्म सञ्चालन गरेका छौं । पहिलो प्रयासस्वरूप १५ कट्ठा जग्गामा सयपत्री फूल लगाएका थियौं, जसको उत्पादन र बजार माग अत्यन्तै उत्साहजनक छ।
हामीले बुटवल, भैरहवा, परासी, सेमरी, गोपीगञ्ज, जिमिरेभार र बर्दघाट लगायतका स्थानीय बजारहरूमै फूल आपूर्ति गरिरहेका छौं । अन्य बाहिरी व्यापारी वा होलसेलरहरूको तुलनामा स्थानीय उपभोक्तालाई प्रोत्साहन गर्न १५ देखि २० प्रतिशतसम्म सहुलियत र सुलभ मूल्यमा फूल बिक्री गरेका छौं । यसले गर्दा स्थानीय बजारमा स्वदेशी फूलको माग अत्यधिक मात्रामा बढेको छ । यस कार्यबाट केहि महिलालाई मालाको प्रतिगोटा हिसाबले पारिश्रमिक दिएर प्रत्यक्ष रोजगारी दिएका छौं। यसले गाउँमै नयाँ उत्साह र आयआर्जनको ढोका खोलेको छ।”
पहिलो वर्षको परीक्षणको रूपमा सुरु गरिएको यो फूल खेतीले प्राप्त गरेको सफलता र बजारको उच्च मागले हामी लाई थप ऊर्जा दिएको छ । ६ बिगाहाको विशाल क्षेत्रफलमा एकीकृत रूपमा अन्य कृषि उपज तथा फलफूलहरू समेत जोड्ने उहाँहरूको दीर्घकालीन योजना छ । साथै, यस कार्यमा जिल्ला कृषि ज्ञान केन्द्र, प्रदेश कृषि मन्त्रालय, कृषि निर्देशनालय तथा कृषि जोन केन्द्र जस्ता निकायहरूबाट थप प्राविधिक तथा व्यावसायिक सहयोगको अपेक्षा गरिएको छ।
पश्चिम नवलपरासीको मिश्रौलीमा देखिएको यो सफल अभ्यासले स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात विस्थापन र स्थानीय रोजगारी सिर्जना गर्न कृषि क्षेत्र नै मुख्य आधार बन्न सक्छ भन्ने बलियो सन्देश दिएको छ ।
तस्बिर – व्यावसायिक फूल खेतीमा धुर्ब पौडेल र नारायण न्यौपाने ।
