एजेन्सी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये १ सय ५५ जनालाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । बन्धक मुक्त गराउने क्रममा २७ विद्रोही र ३० सुरक्षाकर्मी मारिएका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

उद्धारका क्रममा ३७ यात्रु घाइते भएको जनाएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार ९ वटा डिब्बा रहेको रेलमा ४ सय भन्दा बढी यात्रु थिए ।
विद्रोही समूह बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले मंगलबार क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर केयौं यात्रुलाई बन्धक बनाएका थिए । सुरक्षाकर्मीले अझै कैयौं यात्रु बीएलएको नियन्त्रणमा रहेका जनाएका छन् ।
यसअघि बीएलएले रेलमा रहेका ४ सय २५ यात्रुमध्ये २ सय १४ जनालाई बन्धक बनाएको जनाएको थियो । एक सैनिक अधिकारीका अनुसार रेलमा क्वेटाबाट चढेका सयभन्दा बढी सेनाका कर्मचारीहरूले यात्रा गरिरहेका थिए ।


