काठमाडौँ, अष्ट्रेलियाबाट अध्ययन गरी फर्किएका नेपाली एलुम्नाइहरूको संस्था Association of Nepalese Alumni from Australia (ANAA) द्वारा आयोजित पहिलो बागमती प्रादेशिक भेला “नेपालको विकासमा एलुम्नाइ योगदानको उत्सव” भन्ने नारासहित होटल बाराही, ठमेलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा नेपालका विभिन्न क्षेत्रहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका अष्ट्रेलियन एलुम्नाइहरूको उल्लेखनीय उपस्थिति रह्यो। अष्ट्रेलियन दूतावास नेपालको सहयोगमा सम्पन्न यस भेलाले प्रादेशिक स्तरमा एलुम्नाइहरूको सञ्जाल विस्तार गर्ने उद्देश्य बोकेको थियो।

कार्यक्रम ३ बजे औपचारिक रूपमा सुरु भएको थियो। त्यसअघि सहभागीहरूको दर्ता र स्वागत चिया कार्यक्रम सञ्चालन गरिएको थियो। एएनएएका अध्यक्ष अनन्त पौडेलले स्वागत मन्तव्य दिँदै नेपालका सामाजिक, शैक्षिक र प्रशासनिक विकासमा एलुम्नाइहरूको भूमिकालाई सराहना गरे। संस्थापक अध्यक्ष डा. राम हरि अर्यालले एएनएएको स्थापना, उद्देश्य र क्रियाकलापहरूबारे संक्षिप्त जानकारी प्रस्तुत गरे। दुवै वक्ताले अष्ट्रेलियाबाट प्राप्त शैक्षिक ज्ञान र अनुभवलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न एलुम्नाइहरूलाई उत्प्रेरित गरे।
कार्यक्रमको पहिलो सत्रमा विविध क्षेत्रमा योगदान गरिरहेका एलुम्नाइहरूको प्रस्तुति रहेको थियो। मानिषा बुरलाकोटी, एएनएएका बोर्ड सदस्य तथा युएनडीपीकी परियोजना अधिकृतले सत्रको सहजीकरण गरेकी थिइन्। राजुना सिंह, अपाङ्गता समावेशीकरण विशेषज्ञले समावेशी शिक्षाको अभ्यास र नीतिगत सुधारबारे चर्चा गरिन्। डा. धीरज प्रधानांग, जल र जलवायु विज्ञले हिमाल क्षेत्रको संरक्षण, ग्लेसियर अध्ययन र दिगोपनाको विषयमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याए। प्रो. कुशुम शाक्य, त्रिविको पूर्व डिनले नीति निर्माण र उच्च शिक्षामा गुणस्तर सुधारमा आफ्ना अनुभव प्रस्तुत गरिन्। हेमा भट्ट, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नेपालकी कन्ट्री म्यानेजरले दक्षिण एशियामा स्वास्थ्य प्रणाली सुधार र विकेन्द्रीकरणको अनुभव साझा गरिन्। अन्ततः सुसान्त रिजाल, किंग्स कलेजका इनोभेसन किचन प्रमुखले युवाको सशक्तिकरणमा आधारित सामाजिक उद्यमशिलताको चर्चा गरे।

दोस्रो सत्र अन्तर्गत विशेष प्यानल छलफल सञ्चालन गरिएको थियो जसको सहजीकरण एएनएएका महासचिव तथा वाटरएड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले गर्नुभएको थियो। डा. रामप्रसाद घिमिरे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवले नीतिमा आधारित सार्वजनिक सेवा सुधारको आवश्यकता बताए। सम्बृद्धि ज्ञवाली, नेपाल रिपब्लिक मिडियाकी सीईओले डिजिटल पत्रकारिता र नागरिक सहभागिता सम्बन्धी पहल प्रस्तुत गरिन्। दीपक रौनियार, ऊर्जामा नवप्रवर्तन र स्वच्छ प्रविधिको अभियानबारे चर्चा गरे। ज्ञानेन्द्र ढुंगाना, नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतले बैंकिङ सुधार, नेतृत्व र नीति निर्माणमा आफ्नो योगदान सुनाए। दिव्यालक्ष्मी मानन्धर, पोषण र सार्वजनिक स्वास्थ्य विज्ञले बहुक्षेत्रीय समन्वयमार्फत स्वास्थ्य सेवा सुधारको दृष्टिकोण प्रस्तुत गरिन्।

प्यानल छलफलपछि सहभागीहरूको जिज्ञासा समाधान गर्न खुला प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो। त्यसपछि अष्ट्रेलियन दूतावासका डेपुटी हेड अफ मिसन ग्रेग कलेमले कार्यक्रममा मन्तव्य दिँदै एएनएएको प्रयासको प्रशंसा गरे र अष्ट्रेलियन एलुम्नाइहरूको ज्ञान र सीप नेपालमा उपयोग हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापन प्रो. डा. काशीराज पाण्डे, एएनएएका उपाध्यक्ष तथा काठमाण्डौ विश्वविद्यालयका अंग्रेजी सहप्राध्यापकले धन्यवाद ज्ञापनसहित गरे। उनले अष्ट्रेलियन शिक्षा प्राप्त नेपाली एलुम्नाइहरूले देशको विकासमा पुर्याइरहेको योगदानलाई अत्यन्त प्रेरणादायी भने। अन्त्यमा नेटवर्किङ र हाई–टी सत्रसहित कार्यक्रम सम्पन्न भयो।
यस प्रकार, एएनएएको पहिलो बागमती प्रादेशिक भेलाले अन्तर्राष्ट्रिय शिक्षाको प्रभाव र एलुम्नाइहरूको भूमिका उजागर गर्दै, भविष्यमा यस्ता प्रादेशिक संवाद कार्यक्रमलाई विस्तार गर्ने बलियो आधार तयार गरेको छ।


