काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आईओई थापाथली क्याम्पसमा उद्घाटन समारोह सम्पन्न भई, बल्खुस्थित क्याम्पस सर्वे ल्याबमा अटोमोबाइल एण्ड मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स इनोभेटिभ नेक्सस (AMESIN) द्वारा आयोजित ‘द गो–कार्ट रेस’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रम थापाथली क्याम्पस परिसरमा आयोजना गरिएको थियो भने प्रतिस्पर्धात्मक गो–कार्ट रेस बल्खुस्थित आईओई थापाथली क्याम्पसको सर्वे ल्याबमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित पाँचवटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफैंले डिजाइन तथा निर्माण गरेका गो–कार्टमार्फत प्रतिस्पर्धा गर्दै आफ्नो प्राविधिक दक्षता, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको प्रदर्शन गरेका थिए। यस कार्यक्रमले शैक्षिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्दै विद्यार्थीहरूलाई उद्योग–उन्मुख सीप विकास गर्न प्रेरित गरेको आयोजकले बताएका छन्।
कार्यक्रमको शैक्षिक साझेदार इडु–ब्रिज रहेको थियो। सो अवसरमा इडु–ब्रिजका बिजनेस एण्ड अपरेसन म्यानेजर केजन किरण नापितले सहभागी सबै कलेज, विद्यार्थी, आयोजक समिति तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरे।
उनले इडु–ब्रिजले वैदेशिक शिक्षा, करिअर काउन्सेलिङ तथा पारदर्शी भर्ना सेवामार्फत नेपाली विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस्ता प्राविधिक तथा नवप्रवर्तनमूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
![]()


