२०औं लोकतन्त्र दिवसको उपलक्ष्यमा महाकवि देवकोटा क्याम्पसको सभा हलमा सद्भाव, प्रर्वद्धन, विधिको सासन र लोकतन्त्रको संरक्षण विषयक नागरिक संवाद कार्यक्रम आयोजना गरिएको छ।

मानव अधिकार तथा शान्ति समाज, नवलपरासी शाखाको आयोजनामा संस्थाका सभापति शिवप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पौडेलले स्वागत मन्तव्यसहित अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य खड्क बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले लोकतन्त्र केवल व्यवस्था परिवर्तनमा सीमित नभई जनताको जीवनस्तर सुधार, सुशासनको प्रत्याभूति र विकासका प्रतिफल जनतासम्म पुर्याउने माध्यम हुनुपर्ने बताउनुभयो। तर, पछिल्लो समय सरकारहरू जनअपेक्षा अनुसार सञ्चालन हुन नसकेको, राजनीतिक दलहरू जनभावनाबाट टाढिँदै गएको र नेतृत्वमा उत्तरदायित्वको कमी देखिएको उहाँको भनाइ थियो।
उहाँले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनहरूलाई स्मरण गर्दै ती परिवर्तनहरूले जनताको आकांक्षा पूरा गर्न नसकेको उल्लेख गर्नुभयो। देशमा कुशासन, भ्रष्टाचार, नातावाद र कृपावाद बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता प्रवृत्तिको अन्त्य बिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनुभयो। साथै, भदौ २३ र २४ गते भएको आन्दोलन जनताको असन्तुष्टिको प्रतिविम्ब भएको उल्लेख गर्दै यसलाई राजनीतिक दलहरूले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
साथै, प्याप्सनका प्राज्ञिक सदस्य सुवर्ण न्यौपानेले लोकतन्त्रलाई जनताले आफैँलाई आफैले शासन गर्ने प्रणालीका रूपमा व्याख्या गर्नुभयो। उहाँले लोकतन्त्रको वास्तविक अर्थ केवल चुनावमार्फत प्रतिनिधि चयन गर्नु मात्र नभई जनताको सक्रिय सहभागिता, निगरानी र उत्तरदायित्व सुनिश्चित गर्नु रहेको बताउनुभयो। जनताले आफ्ना अधिकारप्रति सचेत भई राज्यका निर्णय प्रक्रियामा चासो राख्नुपर्छ र गलत कामप्रति आवाज उठाउनुपर्छ भन्ने उहाँको जोड थियो। साथै, शासकहरू जनताका सेवकका रूपमा काम गर्नुपर्ने र जनताको हितअनुसार नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो। यसरी मात्र लोकतन्त्र सशक्त र व्यवहारिक बन्न सक्ने उहाँले स्पष्ट पार्नुभयो।

सहकारी अभियन्ता तथा समाजसेवी विष्णु पौडेल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण लामिछाने, क्याम्पस प्रमुख नारायण ढकाल, नवलपरासी बारका अध्यक्ष रामकृष्ण पौडेल, वरिष्ठ अधिवक्ता सुदर्शन पन्त तथा समाजसेवी देवी घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रस्तुत अवधारणा पत्रप्रति नवलपरासी शाखाले ऐक्यबद्धता जनाएको उल्लेख गरिएकोछ। वक्ताहरूले भदौ २३ र २४ गतेको आन्दोलन दलहरूको अकर्मण्यता तथा सरकार जनआकांक्षा अनुसार सञ्चालन हुन नसकेको कारणले भएको धारणा व्यक्त गर्नुभयो। अधिकांश वक्ताहरूले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनहरू जनअपेक्षाअनुसार हुन नसकेको, कुशासन, भ्रष्टाचार, नातावाद र कृपावाद मौलाएको तथा राजनीतिक दलहरू असफल भएको विषय उठान गर्नुभयो।
महाकवि देवकोटा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा सुनवल नगरपालिकाका विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक सुधार र जनमुखी शासनको आवश्यकता औंल्याएको थियो। कार्यक्रममा संयोजक बासुदेव पौडेल, कार्यसमिति सदस्य र निवर्तमान सभापति गणेश न्यौपानेको विशेष सहयोग रहेको थियो ।
मानव अधिकार तथा शान्ति समाज नेपालमा क्रियाशील एक सामाजिक संस्था हो, जसको मुख्य उद्देश्य मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्नुका साथै समाजमा दिगो शान्ति स्थापना गर्नु हो। यस संस्थाले सबै नागरिकलाई समान अधिकार र अवसर प्राप्त होस् भन्ने लक्ष्य राख्दै जात, धर्म, लिङ्ग वा वर्गका आधारमा हुने विभेदको अन्त्य गर्न प्रयास गर्छ। यसको प्रमुख कर्तव्यहरूमा मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमन र अनुसन्धान गर्नु, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, अहिंसात्मक आन्दोलन तथा अभियानहरू चलाउनु, र पीडितहरूलाई सहयोग उपलब्ध गराउनु पर्दछ। साथै, यसले सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गरी नीतिगत सुधारका लागि सुझाव दिने काम पनि गर्छ।
यसरी, मानव अधिकार तथा शान्ति समाजले न्यायपूर्ण, समतामूलक र शान्तिपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। संस्थाले कार्यक्रम समयमा सञ्चालन, खादा मालाको प्रयोग नगरी समानान्तर बसाईलाई मान्यतादिने गर्दछ ।


