काठमाडौँ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स), बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित अल्फाबेटा कम्प्लेक्समा “जलवायु न्याय र मानवअधिकार” विषयक राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ।
मानवअधिकार एलायन्सका महासचिव तिलोत्तम पौडेलले उद्घोषण गर्नुभएको उक्त कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानको धुन प्रस्तुत गरी जलवायु परिवर्तन तथा मानवअधिकार आन्दोलनमा अमूल्य योगदान पुर्याउने सहिदहरूप्रति १ मिनेट मौनधारण गरेर गरिएको थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका सह-सचिव नवराज सापकोटा, इन्सेकका अध्यक्ष बिजया राज गौतम, र मानवअधिकार एलायन्सका अध्यक्ष बिदुर सुवेदी लगायतका मानवअधिकारकर्मीहरूले जलवायु परिवर्तनको असर अब वातावरणमा मात्र सीमित नरहेर प्रत्यक्ष रूपमा मानवअधिकारको उपभोगसँग जोडिएको स्पष्ट पार्नुभयो। सह-सचिव सापकोटाले आयोगका तर्फबाट जलवायु न्यायलाई अधिकारमुखी दृष्टिकोणबाट सम्बोधन गर्न नीतिगत पहल भइरहेको जानकारी गराउनुभयो। वक्ताहरूले जलवायु संकटका कारण खासगरी बालबालिका, युवा, महिला र सीमान्तकृत समुदायको मौलिक अधिकार खोसिएको औँल्याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्तरदायित्व र जलवायु न्यायका लागि एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

