काठमाडौं, १ अक्टोबर २०२६। नेपालमा उपलब्ध उच्च शिक्षाका अवसरबारे बंगलादेशी विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको ‘भर्चुअल एजुकेसन फेयर’बाट करिब २०० विद्यार्थी लाभान्वित भएका छन्।
‘स्टडी इन नेपाल’को आयोजनामा बिहीबार साँझ ७ बजेदेखि ९ बजेसम्म जुममार्फत भर्चुअल शैक्षिक मेला सञ्चालन गरिएको हो। मेलामा नेपालका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूले बंगलादेशी विद्यार्थीलाई शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, अध्ययनका अवसर तथा नेपालमा उच्च शिक्षा हासिल गर्न सकिने सम्भावनाबारे जानकारी गराएका थिए।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय, द वेस्टमिन्स्टर कलेज, प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल तथा कलेज अफ आर्ट एन्ड फेसनको सहभागिता रहेको थियो।
कार्यक्रमका विषयमा जानकारी दिँदै स्टडी इन नेपालका प्रतिनिधि विकल्प राज पोखरेलले भर्चुअल शैक्षिक मेलामार्फत करिब २०० विद्यार्थीले नेपालमा उच्च शिक्षा अध्ययनसम्बन्धी जानकारी प्राप्त गरेको बताए। उनका अनुसार यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपाली शैक्षिक संस्थासँग प्रत्यक्ष रूपमा जोड्न सहयोग पुर्याउनेछ।
पोखरेलले आगामी दिनमा पनि विद्यार्थीको आवश्यकता र चासोलाई ध्यानमा राख्दै विभिन्न शैक्षिक तथा अन्तरक्रियात्मक गतिविधि सञ्चालन गरिने जानकारी दिए। नेपालमा उपलब्ध गुणस्तरीय तथा किफायती उच्च शिक्षाका अवसरलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।
‘स्टडी इन नेपाल’ले आफ्नो वेबसाइटमार्फत नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उपलब्ध अध्ययनका अवसरबारे जानकारी प्रदान गर्दै आएको छ। यस पहलले विदेशी विद्यार्थीलाई नेपाली शैक्षिक संस्थासँग जोड्ने, अध्ययनसम्बन्धी जिज्ञासा समाधान गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
नेपालको प्राकृतिक, सांस्कृतिक तथा शैक्षिक विविधतालाई अन्तर्राष्ट्रिय विद्यार्थीसमक्ष प्रस्तुत गर्दै उच्च शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र विद्यार्थी आदानप्रदानका अवसर विस्तार गर्न यस्ता गतिविधिले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आगामी दिनमा विभिन्न देशका विद्यार्थीलाई लक्षित गरी थप भर्चुअल शैक्षिक मेला, शैक्षिक परामर्श, अन्तरक्रिया तथा अन्य सक्रिय कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको आयोजकले जनाएको छ।
वेबसाइट: www.studyinnepal.com

