काठमाडौं। नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल सफल र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। राष्ट्रिय समाचार समिति (रासस) का अनुसार भेटमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो।
भेटका अवसरमा दुवै देशको साझा हितसँग सम्बन्धित विभिन्न क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने र लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा समेत विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र पाकिस्तानबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई भेटमा प्राथमिकता दिइएको थियो।
स्रोत: राष्ट्रिय समाचार समिति (रासस)

