७ मंसिर २०८३, सोमवार

सुनवल महोत्सवमा स्थानीय उत्पादनको आकर्षण


परासी, ७ मंसिर /

पश्चिम नवलपरासीको सुनवलमा जारी छैठौँ सुनवल महोत्सवमा स्थानीय उत्पादन तथा लघु, घरेलु र महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रदर्शनीले दर्शकको ध्यान आकर्षित गरेको छ। स्वदेशमै उत्पादित अर्गानिक वस्तुदेखि महिला उद्यमीका हस्तकला, खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू प्रदर्शनीमा राखिएपछि महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम बनेको छ।
महोत्सवमा स्थानीय सामुदायिक वनमा आधारित बेलको जुस तथा अचार, सुनवलमै उत्पादित विभिन्न प्रकारका अचार, मह, महिला उद्यमीका हस्तकलाका सामग्री, झोला, ढाकाका सामान, जुत्ता, चप्पल, खेलौना, सजावटका सामग्रीलगायत वस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।
स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन र उद्यमीलाई आफ्नो उत्पादनको पहिचान स्थापित गर्ने अवसर प्रदान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उद्यमीहरूको भनाइ छ।
मदानी हेरिटेज फुड्स सुनवल कीर्तिपुरकी उद्यमी कमला रानाले महोत्सवमा ठूलो संख्यामा उपभोक्ता तथा दर्शकमाझ आफ्ना उत्पादनको प्रचार गर्ने अवसर पाएको बताउनुभयो । निःशुल्क स्टलको व्यवस्थाले आफूहरूलाई थप हौसला मिलेको उल्लेख गर्दै उहाँले यसबाट उत्पादनको बजारीकरणमा समेत सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।
गंगा लेडिज टेलर सुनवलकी सञ्चालक गंगा श्रेष्ठले आफ्ना उत्पादन प्रदर्शनीमा राख्न पाउँदा खुसी लागेको बताउँदै महोत्सवले उत्पादनको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पु¥याएको प्रतिक्रिया दिनुभयो ।
महिला उद्यम केन्द्र सुनवल–६ की अध्यक्ष मिना राईले महिला उद्यमीहरूले आफ्नै सीप र श्रमबाट तयार गरेका सामग्रीको प्रदर्शनी तथा बिक्री वितरण गर्न पाउनु सुखद अवसर भएको बताउनुभयो । केन्द्रमा आबद्ध महिलाहरूले हातले बुनेका स्विटर, सिलाइ गरेका मेक्सी, कुशनलगायत सामग्री उत्पादन गर्दै आएको उल्लेख गर्दै उहाँले महोत्सवमा आएर सामग्री अवलोकन तथा खरिद गरी महिला उद्यमीको मनोबल बढाइदिन दर्शक तथा उपभोक्तालाई आग्रह गर्नुभयो ।
आरजे जुत्ता उद्योग सुनवल लक्ष्मी पथकी उद्यमी जमुना पाण्डेले सुनवलको लक्ष्मीपथमै उत्पादन हुने जुत्तालाई स्वदेशी उत्पादनका रूपमा चिनाउन महोत्सवमा स्टल राखिएको बताउनुभयो । उहाँले स्थानीय उत्पादनको पहिचान र प्रवद्र्धनमा महोत्सवले सहयोग पु¥याएको बताउनुभयो ।
आयोजक उद्योग वाणिज्य संघ सुनवलका अनुसार महोत्सवमा स्थानीय उत्पादन तथा लघु, घरेलु उद्यमीका गरी २७ वटा स्टल रहेका छन्। घरेलु तथा साना उद्योग कार्यालय र सुनवल नगरपालिकाको सिफारिसमा सम्बन्धित उद्यमीलाई निःशुल्क स्टलको व्यवस्था गरिएको संघले जनाएको छ।
कुल १७० वटा स्टल रहेको छैठौँ सुनवल महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनुले साना उद्यमी, महिला उद्यमी तथा स्वरोजगारमूलक व्यवसायमा आबद्ध व्यक्तिहरू उत्साहित देखिएका छन् । मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार