कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार प्रयास भएको छ। बिहीबार राति अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।

राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्किने क्रममा सानो हतियारबाट गोली प्रहार भएको डिएसपी अधिकारीले बताउनुभयो ।‘शौचालय घरबाहिर रहेछ। फर्कँदा सानो हतियारबाट गोली प्रहार भएको रहेछ। घटनास्थलबाट एक थान सानो हतियार (पेस्तोल) मा प्रयोग हुने गोलीको खोका बरामद पनि भएको छ,’ उहाले भन्नुभयो ।
यद्यपि अध्यक्ष चौधरीलाई गोली नलागेकाले उहाँ सुरक्षित रहेको डिएसपी अधिकारीले बताउनुभयो ।
अध्यक्ष चौधरीले घरको पर्खाल बाहिरबाट आफूमाथि गोली प्रहार भएको प्रहरीलाई बताउनुभयो । उहाले घटनाबारे तत्काल प्रहरीलाई खबर गर्नुभएको थियो । स्थानीय प्रहरी युनिटबाट केही बेरमै प्रहरी त्यहाँ पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।



