आज अप्रिल २५, विश्व औलो दिवस मनाइँदैछ । लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक रोग औलोबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो । औलो एनफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्छ । यो जातको लामखुट्टेको विकास विशेषगरी पानी जमेको ठाउँमा हुने गर्छ ।

नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्लो समय निवारण उन्मुख रहे पनि यसको जोखिम कायमै छ । यसको उचित उपचार नभए बिरामीको ज्यान जान सक्छ ।
औलो लामखुट्टेबाट सर्ने रोग भएकाले यसबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको लामखुट्टेबाट आफूलाई बचाउनु हो ।
संक्रामक लामखुट्टेले टोकेको १०–१५ दिनभित्र औलोका लक्षणहरू महसुस गर्न सकिन्छ । वयस्कहरूमा औलोले शरीरका धेरै भागहरूलाई नोक्सान पुर्याउन सक्छ, औलो पीडित बच्चालाई श्वासप्रश्वासमा धेरै समस्या हुन सक्छ । ज्वरो आउने, थकान लाग्ने जस्ता लक्षण देखिएमा रगत परीक्षण गराउनुपर्छ ।
औलो भएका व्यक्तिमा निम्न लक्षण देखिन्छ :
– १० देखी १५ दिनसम्म लगातार ज्वरो आउनु
– शरीर चिसो भएको अनुभव हुनु
– शरीरका भित्री अंग सुन्निनु
– जोर्नी दुख्नु
– टाउको दुख्नु
– बान्ता हुनु
– शरीरमा रगतको मात्रा कम हुनु
– अत्याधिक पसिना आउनु
– थकित महसुस हुनु
यस्ता लक्षण देखिएमा अथवा औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ । नेपालमा सरकार मातहतका सम्पूर्ण स्वास्थ्या संस्थामा औलोको निःशुल्क परीक्षण तथा उपचार गरिन्छ ।
औलोबाट बच्ने उपाय :
– सुत्दा झुल टाँगेर मात्र सुत्ने
– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
– सकेसम्म जति बेला पनि बाहुला भएको लुगा लगाउने
– लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने
– घर वरिपरी , कार्यलय , विद्यालयमा टायर, खुल्ला भाडा आदिमा पानी जम्मा हुन नदिने
– पानी जम्मा गर्ने भाडामा लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
– गमलाको प्लेट, फुलदानी , कुलर आदिको पानी कम्तीमा हप्तामा एम पटक फेर्ने
– घर वरपरका पानी जमेका खाल्डाखुल्डी पुर्ने
– लामखुट्टेका लार्भा मार्ने किटनाशक औषधिको प्रयोग गर्ने
औलोबाट बच्न सबैभन्दा पहिले लामखुटेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । त्यसैले लामखुटेको टोकाइबाट जोगिन लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्ने हुन्छ।



