काठमाडौं – पाकिस्तान दूतावास, काठमाडौंले २८ जनवरी २०२६ मा दूतावास परिसरमा “नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रंग (Colors of Pakistan through the Brush of a Nepali Artist)” शीर्षकको कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरेको छ। प्रदर्शनीमा प्रख्यात नेपाली कलाकार विद्यता केसीका कृतिहरू प्रदर्शित गरिएका थिए, जुन पाकिस्तानमा रहँदा उनले भोगेका अनुभव र उनको सिर्जनात्मक यात्राबाट प्रेरित थिए।

कार्यक्रममा कला प्रेमी, कलाकार, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावक तथा पाकिस्तान दूतावासका मित्र–परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। विविध क्षेत्रका व्यक्तिहरूको सहभागिताले पाकिस्तान र नेपालबीचको सांस्कृतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्धप्रति बढ्दो चासोलाई प्रतिबिम्बित गरेको आयोजकले बताएका छन्।
कार्यक्रमका क्रममा कलाकार विद्यता केसीले पाकिस्तानमा आयोजित “दक्षिण एसियाली देशहरूका लागि कलाकार आवासीय कार्यक्रम (Artist Residency Program for South Asian Countries)” मा सहभागिता जनाउँदाको अनुभव साझा गरिन्। उनले पाकिस्तानका विभिन्न स्थानहरूको यात्रा, त्यहाँको कला, संस्कृति र सामाजिक जीवनबाट पाएको प्रेरणाले आफ्ना कृतिहरूलाई कसरी आकार दिएको हो भन्नेबारे विस्तृत रूपमा प्रकाश पारिन्। उनका चित्रकृतिहरूमा पाकिस्तानका प्राकृतिक दृश्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधता जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
कलाकार केसीले आफूलाई उक्त आवासीय कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा पाकिस्तान सरकार तथा काठमाडौंस्थित पाकिस्तान दूतावासप्रति आभार व्यक्त गरिन्। साथै, पाकिस्तानको कला, संस्कृति र त्यहाँ पाएको आत्मीय आतिथ्यप्रति पनि उनले प्रशंसा जनाइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार हाश्मीले कलाकारको सृजनात्मक प्रस्तुति र नेपालबाट पाकिस्तानलाई चित्रण गर्ने विशिष्ट दृष्टिकोणको प्रशंसा गरे। उनले सांस्कृतिक कूटनीति पाकिस्तान–नेपाल सम्बन्धको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै दूतावासले साझा इतिहास, संस्कृति र आपसी समझदारी प्रवर्द्धन गर्न निरन्तर पहल गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले प्रदर्शनीको सफल आयोजनाका लागि पाकिस्तान दूतावासको प्रशंसा गर्दै विद्यता केसीका कृतिहरूमा झल्किएको कलात्मक उत्कृष्टता र गहिरो भावनात्मक अभिव्यक्तिको उच्च मूल्याङ्कन गरेका थिए।
सोही अवसरमा काठमाडौंमा आगामी फेब्रुअरी ५ देखि ७, २०२६ सम्म “पाकिस्तान फुड फेस्टिभल” आयोजना गरिने घोषणा पनि गरिएको छ, जसले नेपाली जनतालाई पाकिस्तानको समृद्ध संस्कृति र पाक परम्पराको स्वाद लिने अर्को अवसर प्रदान गर्नेछ।



