काठमाडौं — नेपालस्थित इजरायली दूतावासको संयोजनमा तीन प्रमुख इजरायली व्यङ्ग्यचित्रकारहरू (क्यारिकेचरिस्ट) — श्री निसिम हेज्कियाउ (नुस्को), प्रा. इटामार डाउबे, र श्री उरी फिन्क — सेप्टेम्बर २८ देखि ३० सम्म नेपालको सांस्कृतिक तथा कलात्मक भ्रमणमा रहेका छन्।
यस भ्रमणका क्रममा सेप्टेम्बर २८ मा काठमाडौंमा “पृथ्वीको सर्वोच्च र सर्वनिम्न बिन्दु” (Highest and Lowest on Earth) शीर्षकमा इजरायली-नेपाली कार्टुन प्रदर्शनी आयोजना गरियो। प्रदर्शनीमा विश्वकै सबैभन्दा होचो भाग (मृत सागर) र सर्वोच्च शिखर (सगरमाथा) को अवधारणालाई जोडेर दुवै देशका कार्टुनिस्टहरूका कलाकृति प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा इजरायली पक्षको नेतृत्व निसिम हेज्कियाउले र नेपाली पक्षको नेतृत्व कार्टुनिस्ट क्लब अफ नेपालका राजेश केसी तथा रबि मिश्रले गरेका थिए।
कार्यक्रममा कलाकारहरूले सहभागीहरूका प्रत्यक्ष व्यङ्ग्यचित्र (लाइभ क्यारिकेचर) समेत बनाएका थिए। दूतावासकी कार्यवाहक राजदूत (Chargés d’Affaires a.i.) जानान बेबारले कला र सिर्जनाका माध्यमबाट दुई देशका जनताबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन्।
भ्रमणका क्रममा इजरायली कलाकारहरूले कार्टुनिस्ट क्लब अफ नेपालका कलाकारहरूसँग अनुभव साटासाट गर्नुका साथै त्रिभुवन विश्वविद्यालय र दिव्यभूमि मल्टिपल कलेजका आमसञ्चार तथा पत्रकारिताका विद्यार्थीहरूका लागि विशेष लेक्चर तथा वर्कसप सञ्चालन गरेका थिए।
NEPAL_2026_CAT.digital

