काठमाडौँ — नेपाली कांग्रेस १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिले धर्मदत्त चापागाईंलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्ला संयोजकमा मनोनीत गरेको छ। समितिका संयोजक प्रा. डा. शशांक कोइरालाद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त मनोनयनको घोषणा गरिएको हो।
जिल्लाका साथीहरूको राय-सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा चापागाईंलाई उक्त जिम्मेवारी सुम्पिएको पत्रमा उल्लेख छ। नवनिर्वाचित संयोजक चापागाईंले नेपाली कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात् गर्दै जिल्लामा पार्टी संगठनलाई अझ मजबुत बनाउने विश्वास समितिले लिएको छ।
२०८३ भदौ १७ र १८ गते बसेको तयारी समितिको बैठकले १५ औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। सोही कार्यतालिका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, र कात्तिक १५ गते जिल्ला अधिवेशन आयोजना गरिनेछ। त्यसैगरी मंसिर ४ गते प्रदेश अधिवेशनहरू सम्पन्न गर्ने निर्णय भएको छ।
पत्रमा देशको वर्तमान राजनीतिक अवस्था जटिल र अस्थिर बनिरहेको चर्चा गर्दै १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउने वैधानिक दायित्व रहेको स्पष्ट पारिएको छ। साथै, पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट न्याय पाइने विश्वाससमेत व्यक्त गरिएको छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तयारी समितिद्वारा नवलपरासी जिल्ला संयोजकमा धर्मदत्त चापागाईं

