पश्चिम नवलपरासी/ कार्तिक ३
बडादसैँको अवसरमा पश्चिम नवलपरासीको प्रसिद्ध एवं धार्मिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरूको भव्य घुइँचो लागेको छ । मन्दिर परिसरमा पूजाअर्चना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको छ ।
पूर्ब मन्त्री देबेन्द्र राज कण्डेल संरक्षक एवं रहनू भएको यो ऐतिहासिक मन्दिरको पाल्हीनन्दन गाउँपालिका–४ मा अवस्थित यस मन्दिरमा परम्पराकाल देखी नै दसैँका अवसरमा विशेष पूजाआजा हुने परम्परा रही आएको छ । विशेष गरी पश्चिम नवलपरासीका साथै छिमेकी जिल्लाहरू रूपन्देही, कपिलवस्तु र सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरू दर्शन तथा मनोकाङ्क्षा पूरा गर्न मन्दिर पुग्ने गरेका छन् ।
पाल राजवंशको शासनकालमा कोट (किल्ला) का रूपमा स्थापित भएकाले यस मन्दिरलाई ‘पाल्ही कोटकी काली भगवती’ भनिन थालिएको हो । वि.सं. २०१८ भन्दा अघि यो क्षेत्रलाई ‘पाल्ही माझखण्ड’ भनेर चिनिन्थ्यो । साविक नवलपरासी जिल्ला र साविक परासी क्षेत्रको नामकरणमा समेत यही ऐतिहासिक पाल्ही भगवतीको विशेष योगदान रहेको मानिन्छ। मन्दिरको नियमित सञ्चालनका लागि वि.सं. १९०० मा इन्द्र सुब्बाले गुठीको व्यवस्थापन गरिदिएको इतिहास अभिलेखित रहेको पाइन्छ।
मन्दिरमा स्थापित देवी काली (भगवती) को स्वरूप शान्त र ज्ञानदायिनी रहेको छ। बायाँ हातमा खड्ग बोकेकी देवीको मूर्तिलाई विशेष शृङ्गार गरी पूजाअर्चना गरिन्छ। पौराणिक मान्यता अनुसार तान्त्रिक र वैदिक दुवै विधिबाट पूजा गरिने यस शक्तिपीठमा सच्चा मनले भाकल गरेमा सन्तान प्राप्ति हुने, चिताएको पुग्ने र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।
करिब साढे एक बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा मुख्य काली मन्दिरका साथै शिव, हनुमान, चामुण्डा देवी लगायतका अन्य देव-देवताका साना मन्दिरहरू समेत रहेका छन् । बडादसैँका अवसरमा मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको सहज दर्शनका लागि सुरक्षा, खानेपानी, र शान्ति-सुरक्षाको विशेष प्रबन्ध मिलाएको छ ।

