काठमाडौँ,माघ २ । प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको नेताहरूले बताएका छन् । विपक्षी दलहरूले सरकार स्वेच्छाचारी बन्दै गएको आरोपसमेत लगाएका छन् ।
‘जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरह्यो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास हाम्रो समझदारी बनेको छ,’ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकपछि भन्नुभयो ।
संविधानअनुसार संसद् अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सङ्ख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक आह्वान गर्न सक्ने व्यवस्था छ । विशेष अधिवेशन आह्वानको प्रस्ताव राष्टपतिसमक्ष प्रस्तुत गर्न कम्तीमा ६९ सदस्यको हस्ताक्षर आवश्यक हुन्छ ।
यस्तै बैठकले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ । कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने र भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ ।



