सर्लाही । बागमती नगरपालिकाका तीन सय ४६ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ । बागमती नगरपालिका–५, सोल्टीमा सञ्चालित तीन दिने आँखा शिविरबाट उनीहरुको मोतिया बिन्दुको शल्यक्रिया गरिएको हो ।

गत माघ ४ गतेदेखि मोतिया बिन्दु पहिचान (स्कृनिङ) शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा फेला परेका बिरामीको शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले बताउनुभयो ।
बागमती र बरहथवा नगरपालिकामा गरी १० स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो । शिविरमा दुई हजार एक सय ९६ जनाले आँखा जाँच गराएका थिए । शिविरबाट निःशुल्क आँखाको शल्यक्रिया भएकोमा बागमती नगरपालिका–२ की स्थानीय सुन्दरीमाया घिसिङले खुसी व्यक्त गर्नुभयो । बागमती नगरपालिका–४, निवासी तुलाबहादुर विश्वकर्माले उपचारकै लागि टाढा जान नसक्नेहरु शिविरबाट लाभान्वित भएको बताउनुभयो ।
बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । एकै दिन एक सय ४३ जनाको आँखामा भएको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ ।



