नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि हब इन्टरनेशनल एजुकेशन आधिकारिक रूपमा पोखरा एभेन्जर्सको इन्टरनेशनल एजुकेशन पार्टनर बनेको छ। खेलकुद र शिक्षा दुबै क्षेत्रमा युवालाई सशक्त बनाउने उद्देश्यसहित गरिएको यो सहकार्य दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न विशेष समारोहमार्फत सार्वजनिक गरिएको हो।

एनपीएल सिजन २ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुँदैछ, जसमा देशभरका क्रिकेटप्रेमी तथा प्रतिभावान खेलाडीहरूको उत्साहपूर्ण सहभागिता रहनेछ। यस्ता राष्ट्रिय स्तरका प्रतियोगितामा शिक्षा क्षेत्रका प्रतिष्ठित संस्थाहरूको सहकार्यले खेलकुदको मूल्य र प्रभाव झनै बढ्ने हब इन्टरनेशनल एजुकेशनले विश्वास व्यक्त गरेको छ।
सम्झौतामा बोल्दै हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष डा. उद्भव बढौर खड्काले २०२३ सेप्टेम्बरमा आयोजित एपेक्स ICC कपमा संस्थाको सहभागिताको स्मरण गर्दै भने, “हब इन्टरनेशनल एजुकेशनले सदैव युवालाई सशक्त बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय शिक्षा, खेलकुद र सामाजिक गतिविधिमा निरन्तर योगदान गर्दै आएको छ।”
यस्तै, संस्थाका ब्रान्ड तथा प्रमोशन म्यानजर पारस पन्तले खेलकुदले नेतृत्व, अनुशासन र टिमवर्कजस्ता महत्वपूर्ण मूल्यहरू विकास गराउने बताउँदै भने, “विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि खेलकुदले सिकाउने जीवन–कौशलहरू अत्यन्त आवश्यक हुन्छन्। पोखरा एभेन्जर्ससँगको हाम्रो साझेदारी युवाको हौसला बढाउने र नेपालको क्रिकेट विकासमा सकारात्मक प्रभाव पार्नेछ।”
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले यो सहकार्यलाई खेल विकास र विद्यार्थी चेतनाको जगमा राखिएको महत्वपूर्ण पाइलाका रूपमा व्याख्या गर्दै भने, “एनपीएल सिजन–२ का लागि हब इन्टरनेशनल एजुकेशनसँगको साझेदारीले खेल क्षेत्रको समग्र विकास र विद्यार्थी चेतनाको जागरणमा महत्वपूर्ण टेवा पुर्याउनेछ।”
हब इन्टरनेशनल एजुकेशन र पोखरा एभेन्जर्सबीचको यो सहकार्य खेलकुद र शिक्षाबीचको समन्वयलाई अझ मजबुत बनाउँदै युवालाई अवसर, प्रेरणा र राष्ट्रिय गौरवसँग जोड्ने महत्वपूर्ण पहलका रूपमा स्थापित भएको छ।



