दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थी एकेन्द्र ओलीको असामयिक निधनपछि उनको पार्थिव शरीर स्वदेश फर्काउन नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा – NECSA) ले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीसँग आर्थिक सहयोगको अपिल गर्दै अभियान सुरु गरेको छ। दाङको बबई गाउँपालिका–४ का स्थायी निवासी ओली दक्षिण कोरियास्थित काङवन नेसनल युनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत थिए। उनको गत २२ सेप्टेम्बर २०२६ मा निधन भएको हो।
नेक्साका अनुसार मृतक ओलीको पार्थिव शरीर नेपाल ल्याउन, आवश्यक कानुनी तथा कागजी प्रक्रिया पूरा गर्न र शव व्यवस्थापनका लागि करिब १ करोड ४० लाख कोरियन वन खर्च हुने अनुमान गरिएको छ। अध्ययनका क्रममा कोरिया पुगेका युवाको निधनले शोकमा परेको परिवारलाई यो ठूलो रकम जुटाउन कठिन हुने भएकाले संस्थागत रूपमा सहयोग संकलन अभियान अगाडि बढाइएको हो।
नेक्साका अध्यक्ष सन्तोष खनालले सम्पूर्ण नेपाली समुदाय, व्यवसायी, साथीभाइ तथा आफन्तहरूलाई आ-आफ्नो तर्फबाट स्वेच्छिक आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गर्नुभएको छ। साथै, यो दुःखद घडीमा पीडित परिवारलाई राहत पुर्याउन अभियानसम्बन्धी सूचना धेरैभन्दा धेरै मानिसहरूसम्म पुर्याइदिनसमेत आग्रह गरिएको छ।
सहयोग गर्न चाहनेहरूका लागि नेक्साले सानिमा बैंकको पुल्चोक शाखामा रहेको आफ्नो संस्थागत खाता तथा FonePay (फोनेपे) मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ।

