
न्यूज फायर,सुनवल । नवलपरासी पश्चिमको सुनवल ९ स्वाठीमा अवस्थित प्रगती माविमा भौतिक पुर्वाधार थप हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत प्राप्त ४५ लाख बजेट अनुदान र जनसहभागिता गरि कुल रु ४९ लाख ८३ हजार लागतमा विद्यालयमा ४ कोठे भवन निर्माण हुने भएको हो । भवनको आज एक कार्यक्रमका विच सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले शिलान्यास गर्नुभएको छ ।


सो क्रममा नगर प्रमुख अर्यालले शैक्षिक गुणस्तर सुधार गरी नमुना विद्यालय बनाउन आवश्यक अन्य वजेट नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । आज शिलान्यास भएको भवन चालु आवमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रममा सुनवल वडा नं ९ का वडाध्यक्ष विरवल चौधरीले भौतिक पुर्वाधार निर्माण संगै विद्यालयको शैक्षिक विकासलाई टेवा पुग्ने बताउनुभयो ।

कक्षाकोठा अभाव भएका वेला प्राप्त अनुदानले विद्यालयको भौतिक पुर्वाधार निर्माणसंगै शैक्षिक गुणस्तर पनि बृद्धि गर्दै लैजाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर खानले बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तरका लागि आफुले ईमान्दारीपुर्वक जिम्मेवारी पुरा गर्ने र विगतका समयदेखी विद्यालयमा रहेका विग्रिएको कार्य प्रणालीलाई सुधार्ने प्रयासमा आफु रहेको उहाको भनाई छ ।
वि.स. २०१५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म पढाई हुने गरेको छ । विद्यालयमा हाल ७ सय विद्यार्थी अध्ययरत रहेको अध्यक्ष खानले जानकारी दिनुभयो ।



