
भोजराज पाण्डेय

प्रहरी नायव उपरीक्षक
२०७९ फागुन १ गते रातिको समयमा नवलपरासी जिल्ला रामग्राम न.पा. वार्ड नं १ निलोगेट स्थित सुनवल-परासी भित्रि सडक खण्डमा परासी बाट सुनवल तर्फ जादै गरेको लु ५ प ९६७ नं. को मो.सा. आफै अनियन्त्रित भई गेटमा ठक्कर खाई दुर्घटना हुंदा जिल्ला नवलपरासी रामग्राम न.पा. १४ रेक्सहवा बस्ने बर्ष ३५ को मो.सा. चालकको टाउकोमा चोट लागि गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकोमा निजको अबस्था गम्भीर रहेको र सो अस्पतालमा उपचार हुन नसकेको हुंदा डाक्टरले निजलाई तत्कालै सुबिधा सम्पन्न अस्पताल भैरहवा स्थित मेडिकल कलेजमा रिफर गरेकोमा सोही राति २१:५५ बजे भैरहवा मेडिकल कलेजको डाक्टरले मृत घोषणा गरेको ।
सोही महिनाको १८ गते राति ९;५० बजे सुनवल न.पा. २ नँयाबस्ती स्थित सुनवल परासी भित्री सडक खण्डमा प्रदेश नं. ३-०३-००१ प ४९६३ नं. को मो.सा. आफै अनियन्त्रित भई पल्टिन जादा मो.सा. चालक र पछाडी सवार गरि दुई जना व्यक्तिहरु घाईते भई उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएकोमा दुबै जना घाइतेहरुको अबस्था अत्यन्त गम्भीर रहेकोले तत्काल सामान्य उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठएकोमा १ जनाको सोही अस्पतालमा र अर्को १ जनाको पछि उपचारको क्रममा मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको थियो ।
माथि उल्लेखित सवारी दुर्घटनाका घटनाहरु त केबल प्रतिनिधि घटनाहरु मात्र हुन । दुबै घटना मोटरसाइकल संलग्न भई भएका घटनाहरु हुन् । दुई पाङग्रे सवारी साधन बाट भएको दुर्घटनामा बढी हताहति भएको देखिन्छ । हुनत दुर्घटना कहिले पनि आफूले जानीजानी हुने वा गराउने भन्ने हुंदैन । यो अचानक परिस्थितिबश हुने हो । जसको पुर्वानुमान पनि हुंदैन् ।
सवारी भन्नाले एक ठाउंबाट कुनै अर्को स्थानमा इन्जिनको सहायताले गुड्ने कुनै साधन प्रयोग गरि पुग्नुलाई जनाउंछ । सामान्य अर्थमा बुझ्दा इन्जिनको सहायताले गुड्ने कुनै साधनमा बसि वा चलाई त्यसरी पुग्ने क्रममा हुने कुनै घटना वा दुर्घटनालाई सवारी दुर्घटना भनिन्छ । सवारी दुर्घटना वा सडक दुर्घटना भन्नाले सडकमा गुडिरहेको एउटा सवारी साधनले कुनै कारणबश अर्को सवारी साधन, सडकमा उभिएको वा हिडिरहेको पैदल यात्री, जनावर वा अन्य कुनै संरचनाहरू जस्तै:रूख, पर्खाल, पोल, सडक छेउमा रहेको घर, गोठ वा अन्य सजिब निर्जीव बस्तु आदिलाई ठक्कर दिँदा हुने दुर्घटनालाई जनाउँछ । सवारी दुर्घटनाको कारणले धनजनको क्षति हुन पुग्छ ।
नेपाली बृहत शब्दकोश अनुसार कुनै ब्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना अर्थात अपर्झट आइपरेको कष्टपूर्ण घटना नै दुर्घटना हो । यसलाई अझै ब्यापक रुपमा अर्थ्याउंदा काबु बाहिरको घटना कल्पना भन्दा टाढाको अथवा नसोचेको घटना नै दुर्घटना हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी दुर्घटनाको बारेमा स्पष्ट रुपमा उल्लेख गरेको पाइँदैन । तापनि प्रचलित मान्यता अनुसार, कुनै सवारी साधनले अर्को सवारी साधन वा सडकमा रहेका अन्य सजिव एवं निर्जिव बस्तुलाई ठक्कर दिन्छ र त्यसबाट भौतिक क्षति हुने,मानवीय अथवा पशु चौपाया घाइते हुने र मृत्यु हुने अबस्था मध्ये कुनै एक वा बढी अवस्था सिर्जना हुन्छ भने त्यसलाई सवारी दुर्घटना भनिन्छ ।
यान्त्रिक सहायताले चल्ने कुनै पनि सवारी साधनहरु माथि दक्षता सहितको मानवीय नियन्त्रण बाट नै सडकमा सवारी साधनहरु संचालन हुन्छन् । तथापि मानवीय नियन्त्रण हुंदा हुंदै पनि यदाकदा नियन्त्रण भन्दा बाहिर अथवा काबु बाहिरको परिस्थितिको कारण मानवीय संयमता गुम्न गई सवारी दुर्घटना हुन सक्दछ । त्यसले पक्कै पनि सवारी दुर्घटनामा परि ज्यान गुमाउने र घाइते भई शरीर अङग भङग हुने ब्यक्तिको परिवारमा पर्न गएको आर्थिक, सामाजिक तथा मानसिक क्षतिलाई कुनै शब्द र अङ्कमा गणना गर्नु सामान्य बिषय होइन । यद्यपि यसबाट भएको भौतिक क्षतिलाई हेर्ने हो भने अर्वौ रुपैयाँको क्षति भएको छ ।
सवारी साधनको प्रयोग गरि आत्महत्या गर्ने देखि बाहेक नेपालमा योजना बनाएर सवारी साधनको प्रयोग गरि कसैको ज्यान लिएका घटना बिरलै होला । सडकमा सवारी साधन लिएर हिडे पछि साबधानी पुर्वक सवारी संचालन नगरेमा जुनसुकै बेला पनि दुर्घटना हुन सक्छ । प्रत्येक पल, समय र दिनमा कुनै न कुनै दुर्घटना भई नै रहेका हुन्छन् । २४ घण्टाको अवधिलाई चार भागमा छुट्याएर विश्लेषण गर्ने हो भने कुनै त्यस्तो समय छैन, जुन समयमा सवारी दुर्घटना नभएको होस् । बिहान, दिउँसो, बेलुका वा राती सबै समयमा दुर्घटना भएका हुन्छन् । चालकले सवारी साधनको चालक सीटमा बसि सवारी लिई सडकमा निस्केपछि चाहे बिहानको समय होस, चाहे दिनको समय होस् वा रातको समय नै किन नहोस् जतिखेर पनि सजग र सचेत रहनुपर्छ र सडक सुरक्षालाई ध्यान दिनुपर्छ भन्ने कुरा निर्विवाद छ । होशियारी नपुर्याई सवारी साधन चलाउंदा दुर्घटना हुन सक्छ भन्ने कुरा सडकमा गाडी चलाउने प्रत्येक चालकलाई थाहा हुन्छ । त्यसैगरि सडकमा होश नराखि अनुशासित तरिकाले नहिडे सवारी साधनले ठक्कर दिन सक्छ भन्ने कुरा बटुवा वा पैदल यात्रीलाई पनि जानकारी भएकै कुरा हो । दुर्घटनामा पर्ने रहर कसैलाई पनि हुंदैन । दुर्घटना पछिको बिकराल अबस्थाले मानिसको आर्थिक र मानसिक अबस्थालाई नराम्रो संग प्रभाबित पारेको हुन्छ ।
नेपालमा प्रत्येक दिन औसत १४ जनाको सवारी दुर्घटनाका कारण मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययन अनुसार वार्षिक ५,११५ जनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । मृत्यु हुने मध्ये ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला हुने गरेका छन् । सरकारी तथ्यांकले भने दैनिक औसतमा ८ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको देखाउँछ । वर्षमा दुई हजार आठ सय जनाको मृत्यु हुने गरेको तथ्यांक छ । तर दुर्घटना हुने कारण मध्ये चालकको लापरबाही, तीब्र गतिमा सवारी संचालन, मादक पदार्थको सेवन, सवारीको यान्त्रिक खराबी लगायत प्रमुख कारण रहेका छन् ।
लुम्बिनी प्रदेश अन्तरगत पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला पुर्व पश्चिम राजमार्ग र हुलाकी सडक संञ्जाल समेतले जोडिएको तराईको जिल्ला हो । लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुमा जस्तै यस जिल्लामा पनि सवारी दुर्घटना अथवा सडक दुर्घटनाको दर न्यून हुन सकेको छैन् । राजमार्ग सडक, हुलाकी सडक र भित्रि सडकहरुमा दैनिक जसो दुर्घटना हुने गरेको अबस्था छ । चालकको लापरबाही, सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी चलाउनु, तीब्र गति, मादक पदार्थको सेवन, पुराना सवारी साधनको संचालन आदि कारणहरुले गर्दा दुर्घटना हुने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बसुप) को तथ्याङकलाई आधार मानेर बिश्लेषण गर्ने हो भने आर्थिक बर्ष ०७७।०७८ मा नवलपरासी जिल्लामा साना ठूला सवारी साधनहरु समेत गरि जम्मा १९४ वटा सवारी दुर्घनाका घटनाहरु भएकोमा (सवारी साधन एक-आपसमा ठोकिई मानिस घाइते नभएका घटनाहरुको संख्या समाबेश छैन) महिला, पुरुष र बालबालिका समेत गरि जम्मा ५१ जनाको मृत्यु भएको थियो भने २८६ जना घाइते भएका थिए । त्यसै गरि आर्थिक बर्ष ०७८।०७९ मा जम्मा १८७ वटा सवारी दुर्घटनाका घटनाहरु भएकोमा सो दुर्घटनाहरुमा महिला, पुरुष र बालबालिका समेत गरि जम्मा ३४ जनाको मृत्यु भएको थियो भने २७८ जना घाइते भएका थिए । अघिल्लो आ.ब.को संख्या हेर्दा यस आ.ब.मा दुर्घटना संख्या तथा मृत्यु एवं घाइते हुनेहरुको संख्यामा भने केहि कमि आएको पाइन्छ ।
त्यसैगरि यस आ.ब. को ११ महिनाको (जेष्ठ महिना सम्म) अबधीमा बिभिन्न सवारी साधनहरु संलग्न भई भएका दुर्घटनाहरुमा ३८ जनाको मृत्यु भईसकेको छ भने ८९ जना मानिसहरु घाइते भई उपचारको लागि बिभिन्न अस्पतालमा पठाइएको थियो । यसै तथ्याङकलाई आधार मानि बिश्लेषण गर्दा अघिल्लो २ आ.ब. को घटनाहरुको तुलनामा यस आ.ब. को घटना संख्यामा कमी आएको छ भने , मृत्युको संख्या भने बढी रहेको देखिन्छ तर घाइतेको संख्यामा भने कमी देखिन्छ ।
नेपालको भूबनोटको कारणले गर्दा सडकको अबस्था जहिले पनि कमजोर हुने गरेको छ । पहाडी भूभागमा रहेका सडक पानी परेको बेला हिलाम्मे हुने र पानी नपर्दा धुलाम्मे हुने गरेको कारण सडक दुर्घटना हुने गरेको पाइन्छ । सडकको कमजोर अबस्था, खाल्डाखुल्डी र सांघुरा सडक र घुम्तीहरुको कारण पनि दुर्घटना हुने गरेको छ । सवारी साधनको अवस्था, पुराना सवारी साधन, सडक प्रयोगकर्ताको लापरबाही, तीब्र गति, अदक्ष चालक, लामो समय सम्म एउटै चालकले सवारी चलाउनु, सवारी नियमको उलंघन गर्नु, क्षमता भन्दा बढी यात्रु तथा सामान ढुवानी गर्नु पनि सडक दुर्घटना निम्त्याउने थप कारण बनेका छन् । त्यसमा पनि मापदण्ड विना र योजना बिना निर्माण गरिएका सडक र सडकको अबस्था अनुसार सवारी संचालन नहुनुले पनि सवारी दुर्घटना गराउन आधार तयार गरेका छन् ।
युरोप अमेरिका लगायतका मुलुकहरुमा सार्वजानिक सवारी साधन चलाउने चालकहरुको ड्रेसकोर्ड अनिवार्य गरिएको छ । त्यहांका चालकहरु टाई सुट लगाएर अत्यन्त मर्यादित र अनुशासित तरिकाले सवारी साधन चलाउछन् । चप्पल लगाएर सवारी साधन चलाउन नपाइने नियम छ र यो कडाईका साथ पालना हुने गरेको छ । हामी कहां ट्राफिक चेकजांचलाई हैरानीको रुपमा लिने गरिएको छ । आफूलाई चित्त नबुझ्दा सडकमा दिउटीमा उभिएको ट्राफिक प्रहरी कर्मचारी माथि जाइलाग्ने गरेको पाइन्छ, मानौ उ हाम्रो सबै भन्दा ठूलो दुश्मन हो ।
बिकशित देशमा सवारी नियमको उलंघन सार्वजानिक सवारी साधनहरुका चालकले हतपति गर्दैनन । किनकी त्यहां सवारी नियमको उलंघन गर्नेलाई जरिवानाको दर अत्यन्त उच्च छ । यो पनि दुर्घटना न्यूनीकरण गर्ने एउटा तरिका हो । हामी कहां आए आफ्नो, गए शाहुको भन्ने चलन ब्याप्त छ । गाडी किनेर चालकको जिम्मा लगाएको सवारी धनीलाई किस्ता कसरी बुझाउने भन्ने मात्र ध्याउन्ना हुन्छ । युवाहरुको खाडी लगायतका मुलुकहरुमा भएको पलायनले गर्दा सवारी साधन चलाउने चालकहरुको अभाव छ । सवारी साधन चलाउन जानेको हुन्छ तर चालक अनुमती पत्र हुंदैन । सवारी दुर्घटना भएको अबस्थामा उसले ब्यहोर्नु पर्ने कानूनी जटिलताको बारेमा न सवारी धनीलाई जानकारी छ ? न चालक स्वयमलाई ? सवारी दर्ता नबीकरण र इन्सुरेन्स किन गर्नु पर्छ भन्ने पनि थाहा नभएको अबस्था छ ।
मादक पदार्थको सेवन गरि सवारी साधन चलाउनु दुर्घटनाको प्रमुख कारण हो । तसर्थ मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी साधन नचलाउने,सवारी साधन चलाउँदा मोबाइलमा कुरा नगर्ने, नजिकमा बसेको यात्रुसँग कुरा नगर्ने, तिब्र गतिमा सवारी नचलाउने, सडकको अबस्था अनुसार मात्र सवारी चलाउने, तिब्र गति र चालकको नियन्त्रण बाहिर सवारि नचलाउने, पैदल यात्रुलाई प्राथमिकता दिई सवारी साधन चलाउने र सवारी नियमको पालना गरि सवारी साधन चलाउने गरेमा पक्कै पनि सवारी दुर्घटना बाट बच्न सकिन्छ ।
त्यस्तै यात्रु बोक्ने साधनमा नुन तेल देखि चामलसम्म बाख्रा, भैसी कुखुरा देखि सुँगुरसम्म बोक्ने र सवारीको क्षमता भन्दा बढी यात्रु बोक्ने तथा सामान ढुवानी गर्ने साधनमा यात्रु बोक्ने कार्यले दुर्घटनालाई बढावा दिएको छ । यसलाई नियन्त्रण र निरुत्साहित गर्नु पर्दछ । सुरक्षित यात्राका लागि सवारी साधन दुरुस्त हुनु, चालक स्वास्थ्य हुनु र चालकलाई सडक सुरक्षाको बारेमा पूर्ण ज्ञान हुनु जरुरी रहेको छ । साथै नेपाल प्रहरी लगायतका निकायहरुले समय समयमा चालक लक्षित चेतनामुलक कार्यक्रम र स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरु संचालन गरि चालकलाई प्रशिक्षित गर्ने कार्यलाई थप निरन्तरता दिई दुर्घटना कम गर्न सकिन्छ ।


