पौष ११ । नेपाल–भारत खुला सीमानाका र फितलो प्रशासन संयन्त्रका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा नेपालमा करोडौँको राजस्व गुमेको छ । अर्थतन्त्रमा देखिएको मन्दीका कारण बजार चक्र प्रभावित भई सरकारले चालु खर्च पनि धान्न मुस्किल रहेको समयमा यसरी करोडौँको राजश्व गुम्नु संवेदनशिल विषय हो ।

छिमेकी देश भारतसंग सिमा जोडिएको पश्चिम नवलपरासी जिल्लाका विभिन्न नाकाबाट व्यापारीहरुले राजश्व छलि गरी करोडौँको राजश्व छल्ने गरेका छन् । जिल्लाका गुठीप्रसौनी, बसहिया, पचपेडा, गोपालपुर, हरकपुरा, बलिनगर, गेरमी, सनई लगायत नाकाबाट अबैधरुपमा तस्करी मार्फत राजश्व छली हुने गरेको छ ।
सिमाक्षेत्रका व्यापारीहरुले सुुरक्षाकर्मीहरुलाई झुक्याएर चिनी,लत्ताकपडा,मोबाइल तथा ईलेक्ट्रोनिक्स पार्टस लगायतका सामानहरु भारतबाट नेपाल भित्राउने गरेका छन् । यस्तै उनिहरुले भारतबाट खसी,बोका,भैसी सहित लागुऔषध पनि भित्राउने गरेका छन् ।
यस्तै स्वदेशी कृषि उत्पादनहरु मकै तथा चीनबाट नेपालीका लागि भनेर अनुदानमा ल्याईएका लसुन नेपाल हुँदै भारत पुर्याउने गरिएको छ ।
सिमाक्षेत्रमा दिउँसो भन्दा रातीको समयमा बढी राजश्व छली हुने गरेको छ । तस्करीमा संलग्न व्यपारीहरूले सिमाक्षेत्र नजिकै फर्म संचालन गरेर नेपाल भारतका विभिन्न स्थानमा सामान पठाउने गर्छन् ।
यसरी सामान ओसार पसारमा साईकल,मोटरसाईकल,पिकअप लगायत सवारी साधन प्रयोग हुदा पनि प्रहरी प्रशासन वेखबर हुने गरेको छ । यसरी खुल्लायाममा तस्करी हुनुमा प्रहरी प्रशासनको निस्किृयताले राजश्व छली गर्नमा बढावा दिएको र राजश्व छली कार्यमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरूको पनि संलग्नता रहेको स्थानीयको आरोप छ ।
नेपाल–भारत खुला सिमानाको दुरुपयोग, अवैध व्यापार, लागू औषध ओसारपसार, अवैध र नक्कली मुद्राको कारोबार, मानव बेचबिखनजस्ता अपराध चिन्ताको विषय बन्दै आएको छ ।


