५ अशोज २०८३, सोमवार

८ अर्बको बिजुली भारत निर्यात

काठमाँडौ , ६ पुस
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा आठ अर्ब ३२ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले चालु आवको पुस ३ गतेसम्ममा एक अर्ब ५ करोड ८६ लाख ३४ हजार युनिट बिजुली भारत निर्यात गरेको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिसो बढेकाले काठमाडौं उपत्यका लगायतका विभिन्न ठाउँमा बिजुलीको माग बढेसँगै भारततर्फको बिजुली निर्यात रोकिएको बताए।
‘चिसो बढ्दा काठमाडौं उपत्यका लगायतको विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द गरिएको छ,’ उनले भने ‘देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था आएको छ।’ घिसिङले बैशाख अन्तिम/जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात सुरु हुने बताए।
‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक विद्युत् आयात सुरु भएको छ, विद्युत् आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ तर विद्युत् आयात परिमाण निर्यातभन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने। ‘विगतका वर्षहरूमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने छ’ आइएक्समा विद्युत् खरिद बिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिष्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रति युनिट आठ रूपैयाँ २२ पैसा रहेको छ।
प्राधिकरणले गत आर्थिक वर्षको जेठ र असार महिनासहितको सात महिनाको अवधिमा भने ११ अर्ब १६ करोड ३० लाख रूपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ। प्राधिकरणले सो अवधिमा एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी उभ्रिएको (वर्षा यामको) विद्युत् २०७९ जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्री सुरु गरेको थियो।
भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ। सुरुमा दुई वटा जलविद्युत् केन्द्रहरूबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि २७ जेठदेखि ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो। प्राधिकरणले गत कात्तिक १८ र ३० गतेदेखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्ने स्वीकृति पाएको थियो। योसँगै आठ जल विद्युत् केन्द्रबाट उत्पादित चार सय आठ मेगावाट भारतर्फ निर्यात गर्ने स्वीकृति प्राधिकरणले पाएको छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रूपैयाँ आम्दानी गरेको छ। चालु आव २०७९/८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रूपैयाँ आर्जन गरिएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार