४ अशोज २०८३, आइतवार

सुस्ता गाउँपालिकाको आफ्नै पहलमा ५०० मेट्रीक टन क्षमताको शित भण्डार निर्माण

नवलपरासी, ६पुष ।


पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आफ्नै पहलमा ५०० मेट्रीक टन क्षमताको शित भण्डार गृह(कोल्ड स्टोर) को निर्माण कार्य सम्पन्न गराएको छ । सुस्तामा केरा खेती र ब्यावसायिक आलु खेतीलाई लक्षित गरी दुई बर्ष पहिला निर्माण सुरु भएको कोल्ड स्टोर भवन निर्माण सम्पन्न भए पनि हाल सडक पुर्वाधार, बाउड्री वाल, फिल्डमा माटो फिलिंग, विधुत लगायतको काम अझै बाकी देखिन्छ ।
केराखेती भित्र घुसुवाबालीको रुपमा आलु र केरा केही दिनसम्म सो भण्डार गृहमा भण्डार गरेर राख्न सक्ने र अनुकुल समयमा बिक्री गर्ने गरी शित भण्डार गृहको निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । उनका अनुसार गाउँपालिका भित्रका किसान अहिले उखु खेती गर्न छाडेर वैकल्पिक खेतीको रुपमा केरा, बालु, बगरखेतीको रुपमा तरबुजा आदि खेती हुन थालेका छन् । “बाली भित्र्याउने बेला हतार हुने र सो बेला कृषि उपजले बजार नपाउने समस्या थियो”-उनले भने, “झण्डै पाँच करोडको लागतमा बनेको कोल्ड स्टोरले किसानलाई केही समयका लागि भण्डार गर्न मद्दत मिल्ने छ । यसको भरपुर उपयोग किसानले अब गर्नुपर्छ ।”
कोल्ड स्टोरले सुस्ता गाउँपालिका मात्रै नभई छिमेकी प्रतापपुर गाउँपालिकाका किसानलाई उत्पादन भण्डारमा सहयोग मिल्ने उनको भनाई थियो । यसका लागि स्थानीय किसानहरु पनि सक्रिय हुनुपर्ने उनको भनाई थियो ।
शित भण्डारले किसानलाई ठूलो राहत प्रदान गर्ने नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए । “गाउँपालिकाले किसानको राहतका लागि शित भण्डार बनाई दिएको छ”-उनले भने, “यसले केरा उत्पादक कृषक उत्साहित छन् । शित भण्डारको निर्माण कार्य सम्पन्न भए पश्चात स्थानिय किसानले केरा भित्र आलु खेतीलाई पनि बढावा दिएका छन् ।” अब उत्पादित हुने आलु र केरालाई तत्कालै जुनसुकै मुल्यमा विक्रि गरि हाल्नु पर्ने बाध्यताको अन्त हुने उनको भनाई थियो ।
किसानले धेरैबर्ष पहिलेदेखि यो क्षेत्रमा शित भण्डार बन्नु पर्ने माग राख्दै आएका थिए । लुम्बिनी प्रदेश सरकारले शित भण्डार निर्माणमा ७५ प्रतिशत अनुदान दिइने जनाएपछि गाउँपालिकाले नै २५ प्रतिशत रकम थपेर सो अनुदानको माग गरेको थियो । अहिले लुम्बिनी प्रदेश सरकार र सुस्ता गाउँपालिकाको सहयोगमा ९ सय मेट्रिक टनसम्म भण्डारण गर्न सक्ने क्षमताको शित भण्डार सुस्ता वडा नं.४ नर्सहीमा निर्माण सम्पन्नको अवस्थामा पुगेको छ । यसले किसानलाई आलु, केरा, तरबुजा खेतीतर्फ किसानलाई खेती गर्न हौस्याएको छ । गण्डकी नदी किनारमा अधिकाँश बलौटो भू-भागमा यसै प्रकारको खेती हुने गरेको हँुदा यसको अधिकतम उपयोग हुने गाउँपालिकाले विश्वास गरेको छ ।
शित भण्डार निर्माणको कार्य कालीगण्डकी रविना जेभि ओमसतिया १ रुपन्देहीले जिम्मा लिएको थियो । २०७७ फागुन १८ गते गाउँपालिकासँग सम्झौता भएको थियो । २०७९ मंसिर ३० सम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेको छ । आयोजनाको कुल लागत ४ करोड ९९ लााख ४१ हजार २ सय ९९ रहेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार