काठमाडौं, काठमाडौंस्थित होटल याक एन्ड येटीमा आयोजित शैक्षिक आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा युकेस्थित प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ ईस्ट लण्डनको पहलमा नेपालको शैक्षिक परामर्श क्षेत्रका अग्रणी व्यक्तित्वहरू, संस्थागत प्रतिनिधिहरू तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विश्वविद्यालयको तर्फबाट दक्षिण एसिया क्षेत्रका अन्तर्राष्ट्रिय भर्ना उपप्रमुख पावेल बावा, विद्यार्थी भर्ना तथा स्वीकृति निर्देशक स्टेफेनी वाल्टन, र नेपाल प्रतिनिधि असीम घिमिरेको उपस्थिति रहेको थियो। नेपालबाट रियल ड्रिम्स कन्सल्टेन्सीका प्रबन्ध निर्देशक बसन्त नेपाल, IERIN का अध्यक्ष हेमन्त भट्टाराई, ECAN का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, FECON का अध्यक्ष उमेश कुषवाहा तथा NECA का अध्यक्ष सन्तोष प्याकुरेलले कार्यक्रममा मन्तव्य राखेका थिए।
कार्यक्रममा हालै युके सरकारले सार्वजनिक गरेको श्वेतपत्रको सन्दर्भमा अन्तर्राष्ट्रिय विद्यार्थी आवागमनमा पर्ने प्रभावबारे व्यापक छलफल भएको थियो। नीतिगत परिवर्तनहरू, दीर्घकालीन बसोबास चुनौतीबारेको बुझाइ, नेपाली विद्यार्थीको रुचिमा त्यसको प्रभाव, तथा विद्यार्थीहरूका चिन्ताहरू कसरी सम्बोधन गर्ने भन्ने विषयमा विशेषज्ञहरूमध्ये गहन छलफल भएको थियो।
कार्यक्रमको अर्को मुख्य उद्देश्य परामर्श सेवाको गुणस्तर र पारदर्शिता अभिवृद्धि गर्नु रहेको थियो। ECAN, FECON, IERIN, NECA लगायतका संस्थाहरूको भूमिकाबारे पनि गम्भीर चर्चा गरिएको थियो, जसले नैतिक तथा जिम्मेवार विद्यार्थी भर्नामा सघाउ पुर्याउने विश्वास गरिएको थियो।
सल्लाहकारहरूमार्फत दिइने जानकारीको शुद्धता, विद्यार्थीको भविष्यप्रतिको मार्गदर्शन, र विश्वविद्यालय–संस्था सहकार्यको सशक्तिकरणसम्बन्धी विषयमा अनुभवी प्रतिनिधिहरूले आफ्ना अनुभव र सल्लाह प्रस्तुत गरेका थिए। कार्यक्रममा खुला छलफल पनि आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले आ–आफ्ना विचार, अनुभव र सुझावहरू आदानप्रदान गरेका थिए।
कार्यक्रमको समापनमा प्रमुख निष्कर्षहरू प्रस्तुत गरिँदै आगामी कार्ययोजना र सहकार्यको सम्भावनाबारे छलफल भएको थियो। सहभागीहरूका अनुसार यस्तो प्रकारको शैक्षिक आदानप्रदान कार्यक्रमले नेपाल–विदेश शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
समग्रमा कार्यक्रम सफल, उद्देश्यपरक र सघन संवादयुक्त रहन गएको आयोजक तथा सहभागीहरूले बताएका छन्।


