काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल निर्माण गर्ने तयारीका रूपमा उनले विभिन्न दलका नेता, पत्रकार, नागरिक अभियन्ता तथा कलाकारहरूसँग छलफल गर्दै आएका छन् ।

यसैक्रममा ललितपुरको कुण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफलमा वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक धार, सुशासन र युवाको भूमिकाबारे विचार आदान–प्रदान गरिएको बताइएको छ ।
स्रोतका अनुसार छलफल आज पनि जारी रहनेछ । बालेन साहका यी गतिविधिलाई भावी राजनीतिक यात्राको संकेतका रूपमा हेरिएको छ ।



