
सुनवल। पश्चिम नवलपरासी स्थित गण्डक नहरमा हाम फाल्दा आमा छोरा सहित ३ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सुस्ता गाउपालिका २ महलबारीकी २९ बर्षिया प्रतिमा थारु र उनका दुई छोरा ९ बर्षिय क्रिश थारु र ७ बर्षिय सुमित थारु रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

आज दिउसो हर्कपुरा स्थित गण्डक नहरमा हाम फालेका उनिहरुको खोज तलास कार्य जारी रहेको र हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक पाण्डेका अनुसार मानसिक सन्तुलन सामान्य नरहेकी थारुले आफ्नो दुई छोरा क्रिश र सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम फालि बेपत्ता भएकी हुन् ।
वेपत्ता भएकी थारुका श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको र घरमा सासु रहेको जनाइएको छ । निज महिलाको के कति कारणले दुईजना बालक सहित नदीमा हाम फालेको भन्ने कुरा हालसम्म नखुलेको र अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले जनाउनुभयो ।



