

पुजा लम्साल, सुनवल । ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नगर प्रमुख भएको सुनवल नगरपालिकामा नारीको अवस्था, समस्या र अवसरबारे चर्चा गरिएको छ । कालिका मानवज्ञान विद्यालय बुटवलको आयोजनामा महाकवि देवकोटा क्याम्पस सुनवलमा भएको “नेतृत्वमा महिला सहभागिता ः अवस्था, समस्या र अवसर” विषयक अन्तरक्रिया कार्यक्रममा कानून संकायमा अध्ययन गर्ने विद्यार्थिहरुले सुनवल नगरपालिकामा महिलासंग सम्बन्धित योजना, कार्यक्रम तथा नीति, निर्णय तथा त्यसको कार्यान्वयन लगायत विविध विषयमा अन्र्तक्रिया गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले मेयरसंग महिला कार्यक्रम, महिला विद्यालय सञ्चालन, महिला सेफ हाउस, महिला उद्यम व्यवस्थापन केन्द्र लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै सुनवललाई महिलामैत्री नगर निर्माण संगै विकास निर्माण तथा समृद्ध सुनवल बनाउन हातेमालो गर्दै अगाडि बढेको बताउनुभएको छ । प्रविधिमा महिलाको पहुँच पुर्याउनु पर्छ भन्ने ध्येयका साथ प्रविधिमैत्री नगरपालिका बनाउने योजनामा आफुहरु लागि परेको पनि नगर प्रमुख अर्यालले बताउनुभयो ।

उहाले नेपालकै पहिलो बालमैत्री नगरपालिका रहेको सुनवलमा हाल १४८ वाल क्लब रहेको र ७५ प्रतिशत वालक्लवको नेतृत्व बालिकाको रहेको बताउनु भयो । नेपालको संविधान महिलामैत्री भए पनि त्यसको प्रयाप्त रूपमा अधिकार नपाएको गुनासो गर्दै नगर प्रमुख अर्यालले महिला नेतृत्व रहेको सुनवल नगरपालिकामा समाज रूपान्तरणमा कुशल नेतृत्व दिन सक्नु पर्ने भनाई राख्नुभयो । कमजोर मानसिकताले सफलता हासिल गर्न नसकिने बताउदै नगर प्रमुख अर्यालले परिस्थितिलाई बदल्न मनस्थिति बदल्नु पर्नेमा जोड दिनुभएको छ ।

नगरपालिकाकी सामाजिक विकास समिति संयोजक भगवती बस्यालले संविधान बमोजिम सर्वोच्च पदहरुमा महिलाहरुको नेतृत्व रहेको बताउदै महिलामैत्री नगरपालिका बनाउन आफुहरु अग्रसर रहेको बताउनुभयो । नगरका हरेक क्षेत्रमा रहने महिलाहरुको अवस्था समान नरहेको भन्दै त्यो स्तर उकास्न नगर प्रतिवद्ध रहेको पनि संयोजक बस्यालको भनाई थियो ।
कार्यक्रममा न्यायिक समिति सदस्य तुल्सि ज्ञवालीले नगरका १३ वटा वडामा रहेका मेलमिलाप केन्द्रबाट गाउँघरका ससाना घटनाहरुमा मेलमिलाप गराउने गरिएको र मेलमिलाप केन्द्रले गर्न नसकेका कुरा न्यायिक समितिले गर्ने जानकारी दिनुभयो । सो क्रममा उहाले सामान्य घरपरिवारमा भन्दा पनि सम्पन्न घर परिवारमा घरेलु हिंसाका घटना बृद्धि भएको भन्दै पुरुष हिंसाका घटनाहरुमा पनि बृद्धि भएको भनाई राख्नुभयो ।
कार्यक्रममा कानुन संकाय प्रमुख भीम राज कँडेलले स्थानीय तहको नेतृत्व तहमा महिलाहरुको सहभागिता बृद्धि भए पनि त्यसको निर्णय र कार्यान्वयन तहमा अझै पनि स्वतन्त्र नरहेको बताउनुभयो । प्रविधिमा महिलाको पहुंच बृद्धि संगै विभिन्न चुनौति र समस्याहरुको समाधान गदै नेतृत्व तहमा महिलालाई कुलश नेतृत्वकर्र्ता बन्नुपर्नेमा जोड दिनुभयो ।
अधिवक्ता ज्ञानु केसीले पुरुष बिना महिलाहरूले केही गर्न सक्दैनन् भन्ने मानसिकतालाई चिर्दै जटिल ठानिएका विभिन्न सिर्जनात्मक कार्यमा पहुंच पुर्याएर महिलाले पनि गर्न सक्छ है भन्ने भनाईलाई प्रमाणित गरिसकेको बताउनुभयो ।
शिक्षक प्रतिनिधि शेरचन्द्र गिरीको अध्यक्षता रहेको कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, न्यायिक समिति सदस्य श्याम गुरुगं,बाल कल्याण अधिकारी रेशम शर्मा, महिला तथा बालवालिका शाखा प्रमुख केशरी गैरे लगायत कार्यपालिका सदस्य, बालवालिकाको क्षेत्रमा कार्यरत कर्मचारी, सञ्चारकर्मी लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।



