
पुजा लम्साल, सुनवल। आधुनिक प्रविधिको विकास संगै नगरलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सुनवल नगरपालिकाले महिला कर्मचारी र जनप्रतिनिधिहरुलाई सूचना प्रविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सेवा प्रवाह र विकास निर्माण कार्यमा प्रत्यक्ष रुपमा नागरीकसंग सम्पर्कमा रहने नगरपालिकाका महिला कर्मचारी र जनप्रतिनिधि हरुलाई अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख विमला अर्यालले श्रमिक महिलाहरुको आन्दोलनबाट प्राप्त उपलब्धिको दिनको रूपमा आज अन्तराष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइएको बताउदै दिवसले श्रमिक महिलाहरुमा नवीन ऊर्जा थपोस् भनी शुभकामना व्यक्त गर्नुभयो । महिलाले क्षमता विकाश वृद्धि गर्दै समाज रूपान्तरणको दायित्व निर्वाह गर्नुपर्ने बताउदै यस किसिमका तालिम तथा कार्यक्रमले महिला कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विस्तारमा टेवा पुर्याउने भनाई राख्नुभयो ।

कार्यक्रममा सुनवल वडा नं १का वडा अध्यक्ष मान बहादुर थापाले महिला मैत्री नगर घोषणा हुने चरणमा रहेकाले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले महिला उद्यम संकलन केन्द्र बन्दै गरेको र महिला बिद्यालय सञ्चालन हुने क्रममा रहेको भनाई राख्नुभएको थियो ।
कार्यपालिका सदस्य एवं वडा नं ८ वडा सदस्य विनोद जंग खातीले प्रविधि र सूचनाको आवश्यकता बमोजिम सञ्चालन गरिएका विभिन्न कार्यक्रममा लक्षित महिला वर्ग नै उपस्थित नहुने जस्ता समस्याले आगामी दिनमा त्यसको उपलब्धी पनि सोचे अनुसार नहुने बताउनुभयो । आएका विभिन्न अवसरको लाभ लिन महिलाहरु नै जागरुक नहुनुले तालिमको औचित्य नभएको भनाई राख्नुभयो ।
महिला बालबालिका शाखा प्रमुख केसरी गैरेले पछिल्लो समय हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि भए पनि पुरुषको तुलनामा भने महिलाको सहभागिता न्यून रहेको बताउनुभयो । देशको सर्वोच्च निकायहरुमा महिला नेतृत्व भए पनि प्रयाप्त नभएको उहाको भनाई छ ।
सुनवल नगरपालिकाको आयोजनामा बालमैत्री सिकाई केन्द्रको सभाहलमा आयोजित सो कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका महिला कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
सूचना प्रबिधि अधिकृत कुमार विभोर्सीले प्रशिक्षण दिनु भएको उक्त कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरिक्षक सरिता शर्माले गर्नुभएको थियो।



