
काठमाडौँ ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलिदेखि पूणर्रुपमा सञ्चालनमा आउने भएको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस लागू हुन लागेको हो । नेपालमा मोबाइल प्रयोग र आयातलाई व्यवस्थित गर्न भोलि जेठ १ गतेदेखि एमडीएमएस पूणर् रुपमा लागू हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो ।
यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।




