२२ कार्तिक । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘एसियन बुद्धिस्ट समिट- २०२४’ लाई बुधबार सम्बोधन गर्दै डा लामाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वका सबै बौद्धमार्गी विद्वानहरुको स्वागत गर्न लुम्बिनी विकास कोष आतुर रहेको बताउनुभएको हो ।

उहाले विश्वमा शान्तिको सन्देश फैलाउन शान्तिका अग्रदूत गौतम बुद्धका सन्देशहरु अहिले झन् सान्दर्भिक रहेकाले एसियन बुद्धिस्ट समिट र यस्तै कार्यक्रमहरूको आयोजना थप आवश्यक रहेको पनि चर्चा गर्नुभयो ।
उहाले बुद्धका शान्ति र सहिष्णुता एवं सत्यसम्बन्धी सन्देशहरु संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज अनुसन्धान आवश्यक रहेकामा पनि जोड दिनुभयो । यस्ता सम्मेलन एवं छलफल कार्यक्रमहरुले विश्वमा बौद्ध दर्शन र सिद्धान्तहरुको प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास पनि उपाध्यक्ष लामाले व्यक्त गर्नुभएको थियो ।
उहाले बौद्ध शिक्षाका माध्यमबाट एसिया क्षेत्रलाई अझ विकसित बनाउन सकिने धारणा राख्दै बुद्ध मार्गले कला, साहित्य, बास्तुकला र ध्यानका माध्यमबाट सम्पूणर् एसियालाई नै एकताबद्ध गरेर जोडेको बताउनभएको थियो । विश्वमा र अझ बढी एसियाली मुलुकहरुमा बुद्ध धर्म र बौद्ध शिक्षाको अनुशरण विभिन्न तरिकाबाट भइरहेको प्रसङ्ग पनि उहाले उल्लेख गर्नुभयो ।
उहाले लुम्बिनी विकास कोषले पनि बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्व दिएर कार्यक्रमहरुको आयोजना गर्ने गरेको र यसलाई आगामी दिनमा निरन्तरता दिने धारणा राख्नुभएको थियो । एसियाली बौद्ध सम्मेलनको आयोजना गरेकोमा भारत सरकारलाई उहाले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
बिहीबार सम्पन्न सो सम्मेलनमा नेपालसहित एसियाली देशका बौद्ध दर्शनमा आस्था राख्ने विद्वान एवं बौद्धमार्गीहरुको सहभागिता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।



