
नवलपरासी , पुस ७ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर भित्रका क्षयरोगको जोखिम समुह तथा स्वास्थ्य सेवाको पहुच कम भएका समुदायहरुमा सक्रिय क्षयरोग खोजपड्ताल कार्र्यक्रम सञ्चालन गरेको छ । क्षयरोगबाट प्रभावित व्यक्ति तथा समुदायसम्म क्षयरोगको गुणस्तरीय सेवामा सर्वव्यापी पहुँच वृद्धि गर्दै क्षयरोगलाई नियन्त्रण गर्ने उद्धेश्यले नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरभित्र रहेका समुदायमै पुगी क्षयरोग सम्बन्धी खकार जाँचको माईक्रोस्कोपिक क्याम्प संचालन गरीएको हो ।
नगर भित्रका क्षयरोगका विरामिहरुको खोजीकार्य गर्न सहयोग होस भन्ने उद्धेश्यले शिविरको आयोजना गरिएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिनुभयो । सदरमुकाम पहुँच भन्दा टाढा रहेका क्षेत्रहरुबाट क्षयरोग खोजपड्ताल कार्यक्रम अन्र्तगत समुदायस्तरमै पुगी स्वास्थ्यकर्मीहरुले क्याम्प नै खडा गरी क्षयरोग मिल्ने लक्षण देखिएको बिरामीहरुलाई खकार परीक्षण गरिएको हरिजनले जानकारी दिनुभयो। समुदायमा क्षयरोग मिल्ने लक्षण देखिएको बिरामीहरुलाई खकार निःशुल्क परीक्षण गरिएको र त्यसको रिर्पोट एक हप्तामा आउने हरिजनले बताउनु भएको छ ।
पाँच वटा स्वास्थ्य चौकी र सदरमुकाम पहुँच भन्दा टाढा रहेका क्षेत्रहरुबाट समुदायस्तरमै पुगी एक सय ७२ जना निशुल्क खकार परीक्षण गरिएको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सपकोटाले जानकारी दिनु भयो । हाल रामग्राम भित्र २७ जना सक्रिय रूपमा क्षयरोगी बिरामीहरूले स्वास्थ्य संस्थाबाट उपचार गराईरहेका छन ।
समुदायमा धेरै व्यक्तिहरू विभिन्न समस्याका कारण परीक्षणको दायरामा नआएको कारण रोग अझै व्यक्तिमा सर्दै जाने र थप जटिल हुन सक्ने कारणले यस प्रकारको क्याम्प हरेक वर्ष सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।




