
आज पुस १५ । पुस १५ को दिन घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको हो । आजको दिन वनभोज जाने चलन पनि छ । तर पछिल्लो समय यो चलन बिस्तारै हराउँदै गएको छ ।
गुरुङ समुदायले पनि नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाउदै छन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले देश विदेशमा बसोबास गर्ने सम्पूणर् गुरुङ समुदायलाई शुभकामना दिएका छन् । पुस १५ गतेको रातलाई वर्षभरिकै सबैभन्दा लामो रात पनि मानिन्छ । पुस १५ गतेपछि दिन बिस्तारै लम्बिँदै जाने जनविश्वास छ ।




