भरतपुर, माघ २ । गैँडाको आक्रमणबाट चितवन माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका– ३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् ।

मंगलबार दिउसोको समयमा नजिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । उहाका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
सोही गैंडाको आक्रमणबाट मृतकसंगै गएका अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा माडी–३ कै ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट घाइते भएका छन् । हेमराज र कृष्णको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने बोटको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यसैबिच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएका एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन् ।



