२९ अशोज २०८३, बिहिबार

नवलपरासी-पश्चिममा नेपाल स्वयमसेवी रक्तदाता समाज,नवलपरासी गठन

परासी, १७ साउन / नवलपरासीपश्चिममा स्वयमसेवी रक्तदाताहरुको छाता संगठन नेपाल स्वंयमसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन गरिएको छ ।

आज परासीमा आयोजित सामाजिक अगुवा तथा रक्तदाताहरुको भेलाले नेपाल स्वंयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासी गठन गरेको हो ।
समाजका केन्द्रीय अध्यक्ष एवं नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरी रेकर्ड कायम गर्न सफल प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले मोहन पौडेल अध्यक्ष रहने गरी समाजको ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा प्रभा ज्ञवाली, सचिवमा पुष्पा लामा, कोषाध्यक्षमा बालकृष्ण भण्डारी रहनुभएको छ । यस्तै सदस्यहरुमा सीता कुँवर, दामोदर देवकोटा,डिल्लीराम काफ्ले,प्रकाश खनाल, गुड्डु गुप्ता लगायत रहनुभएको छ । समितिले जिल्लामा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने,बिरामीहरुको अवस्था अनुसार रगत उपलब्ध गराउने,रक्त सञ्चार सेवालाई सहयोग गर्ने लगायतका अभियान सञ्चालन गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
रक्त सञ्चार केन्द्र नवलपरासीका संयोजक सुरज केसीको अध्यक्षतामा भएको उक्त भेलालाई सम्बोधन गर्दै रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले १८ वर्ष पुगेपछि प्रत्येक व्यक्तिले रक्तदान गरी मानवीय सेवामा समर्पित हुन आह्वान गर्नुभयो । आफूले हालसम्म १८३ पटक रक्तदान गरी स्वस्थ रहेको बताउँदै उहाँले रक्तदान गर्दा कमजोरी हुने वा बिरामी हुने भन्ने कुरा सत्य नभएको र त्यसको उदाहरण आफू नै रहेको उल्लेख गर्नुभयो। रगतको अभावकै कारण कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदाता समाजले देशैभरी अभियान सञ्चालन गरिरहेको भन्दै समाजको जिल्ला शाखा गठन हुनेमा पश्चिम नवलपरासीमा ४४ औँ जिल्ला भएको उहाँले जानकारी दिनुभयो ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, रक्तदाता समाजका केन्द्रीय अभियान्ता जगन्नाथ पोखरेल,नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्री,रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुँवर, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, नागरिक समाजका कार्यबाहक अध्यक्ष बेचु गौड,मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्याल, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष भोजराज बराकोटी,सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रभा ज्ञवाली लगायतले रक्तदानको महत्व र रक्तदाताको भूमिकाको विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार