काठमाडौं – नेपालस्थित इजरायल दूतावासको पहलमाइजरायली गैरसरकारी संस्था हिरोज फर लाइफ ले दुई सातासम्म काठमाडौं उपत्यकाका विद्यालय र ललितपुरको तुलसी फाउन्डेसनमा स्वयंसेवी कार्यक्रम सम्पन्न गरेको छ । यसमा ६८ जना ईजरायाली स्वयंसेवकले सहभागिता जनाए ।

स्वयंसेवक टोलीलाई ३४–३४ जनाका दुई समूहमा विभाजन गरी आठवटा सरकारी तथा सामुदायिक विद्यालयमा कार्य गरिएको थियो । यस वर्ष तीन नयाँ विद्यालय थपिँदै कार्यक्रमको दायरा अझ विस्तार भएको छ । कार्यक्रममा अक्टोबर ७ को हमास आतंकी आक्रमणमा ज्यान गुमाएका फर्स्ट सर्जेन्ट अमित मोस्ट र अन्नपूर्ण क्षेत्रमा यात्राक्रममै ज्यान गुमाएकी तामार अरिएलको स्मरण गरिएको थियो ।
यस पहलको मुख्य उद्देश्य दुईवटा क्षेत्रमा केन्द्रित थियो – विद्यार्थीलाई सिर्जनात्मक सोचमा प्रोत्साहन गर्ने रमाइलो गतिविधि सञ्चालन गर्ने, र विद्यालय मर्मत–सम्भारसहित रंगरोगन तथा चित्रकलात्मक भित्तेचित्र तयार गर्ने । हिरोज फर लाइफ हरेक वर्ष नयाँ स्वयंसेवकसहित उही विद्यालय फर्कने गर्दछ, जसले निरन्तरता र दीर्घकालीन प्रभाव सुनिश्चित गर्छ, साथै नयाँ विद्यालयलाई पनि कार्यक्रममा समेट्छ ।
विद्यालयबाहेक, स्वयंसेवकहरूले एक दिन ललितपुरस्थित तुलसी फाउन्डेसनमा बिताए । ईजरायलमा कार्यानुभव प्राप्त गरेकी सरु सुवेदीको नेतृत्वमा रहेको संस्थामा रहेका बालबालिकासँग समय बिताउँदै स्वयंसेवकहरूले रंगरोगन र मर्मतसम्भारमा सहयोग गरे ।
नेपालका लागि ईजरायलका राजदूत शमुलिक एरी बासले स्वयंसेवकहरूको मनोयोगपूर्ण योगदानप्रति प्रशंसा व्यक्त गर्दै भने, “नेपाललाई सहयोग गर्न ईजरायलसधैं तयार रहनेछ । साथीलाई दिने सहयोग हाम्रो लागि अझ मूल्यवान् हुन्छ ।”
सन् २०१७ देखि नेपालमा सक्रिय हिरोज फर लाइफ हाल १८ वटा देशमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । ईजरायलका सैनिकहरूले आफ्नो सेवा पश्चात यात्राक्रम रोकेर स्थानीय समुदायलाई योगदान दिने यस कार्यले नेपाल– ईजरायलबीचको मित्रता र मानवीय सम्बन्धलाई अझ मजबुत बनाएको छ ।

