जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ।
बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म ३ दिनको लागि सिमा नाका बन्द गर्न लागिएको हो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सीमानाका बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिने छ।
त्यस्तै, धनुषा, सर्लाही तथा रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमानाका बन्द हुने जनाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द गर्नुपर्ने भएको हो।


