
काठमाडौँ। रसुवा, नुवाकोट तथा धादिङका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुभएका नागरिकहरूको स्मृतिमा स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले सोमबार साँझ काठमाडौँको पुतलीसडक चोक, शंकरदेव कलेज नजिक, दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

फेकनका अध्यक्ष उमेश कुश्वारको नेतृत्वमा आयोजित कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी, संघका पदाधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले मैनबत्ती तथा दीप प्रज्वलन गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा फेकनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढीपहिरोबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
फेकनका अध्यक्ष उमेश कुश्वारले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
अध्यक्ष कुश्वारले फेकनको टोलीले यसअघि नै बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी पीडित परिवार तथा समुदायलाई सहयोग गरेको जानकारी दिँदै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “हामीले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझेका छौँ र प्रारम्भिक चरणमै आवश्यक सहयोग उपलब्ध गराएका छौँ। यो सहयोग यतिमै सीमित हुँदैन। प्रभावित नागरिकलाई आवश्यक पर्ने थप राहत तथा सहयोगका कार्यमा फेकन निरन्तर साथमा रहनेछ।”
त्यस्तै, फेकनका महासचिव दीपेन्द्र पोख्रेलले विपत्तिपछि फेकनले राहत सहयोगको पहिलो चरणका सामग्री प्रभावित क्षेत्रमा वितरण गरिसकेको जानकारी दिनुभयो। उहाँले राहत तथा सहयोगका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।

महासचिव पोख्रेलले भन्नुभयो, “फेकनले प्रारम्भिक चरणमै राहत सामग्री वितरण गरी सहयोगको सुरुवात गरिसकेको छ। प्रभावित नागरिकको आवश्यकता अझै ठूलो रहेकाले हामी आगामी चरणमा पनि राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ।”
फेकनले प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा शैक्षिक परामर्श क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा आवश्यक सहयोगका कार्यमा निरन्तर साथ दिने जनाएको छ।
दीप प्रज्वलन कार्यक्रममार्फत फेकनले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रभावित परिवार र समुदायलाई आफूहरू एक्लो नभएको सन्देशसमेत दिएको जनाएको छ।



