काठमाडौं, ओजड्रिम सर्भिसेस प्रालिको आयोजनामा काठमाडौंमा ‘एपीयू इन्फरमेसन सेसन एन्ड हाइ-टी इभेन्ट’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी, अभिभावक र एजेन्सी साझेदारहरूलाई एसिया प्यासिफिक युनिभर्सिटी (APU) का प्रतिनिधिहरूसँग जोड्नु रहेको थियो। पाहुनाहरूको स्वागत तथा दर्ताबाट सुरु भएको कार्यक्रममा ओजड्रिम सर्भिसेसकी प्रबन्ध निर्देशक चन्दा मल्लले स्वागत तथा उद्घाटन मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा एपीयूको अन्तर्राष्ट्रिय भर्ना कार्यालयका काउन्सिलर सुश्री थेजानिया विरसिंघले एपीयूको प्रस्तुतीकरण तथा अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्र सञ्चालन गर्नुभएको थियो। विद्यार्थीहरूलाई यथार्थ अनुभव प्रदान गर्न कार्यक्रममा एलम्नाई तथा विद्यार्थी शोकेससमेत राखिएको थियो।
एपीयू नेपाल एलम्नाई च्याप्टरका अध्यक्ष रौनक बास्कोटाले विद्यार्थीहरूको वास्तविक अनुभव र अध्ययनपश्चातको सफलताका बारेमा प्रकाश पार्नुभएको थियो भने प्रद्योत बस्नेत क्षेत्रीले भिडियो प्रस्तुति मार्फत आफ्नो अनुभव साट्नुभएको थियो। त्यस्तै, कार्यक्रममा आइरिन (IERIN) का अध्यक्ष श्री योगेश क्षेत्रीले विशेष अतिथिको रूपमा मन्तव्य राख्नुभएको थियो भने ओजड्रिम सर्भिसेसका भर्ना तथा व्यापार विकास निर्देशक श्री कपिल पी श्रेष्ठले धन्यवाद ज्ञापन तथा समापन मन्तव्य दिनुभएको थियो। कार्यक्रमको अन्त्यमा हाइ-टी तथा नेटवर्किङ सत्र राखिएको थियो, जसले विद्यार्थी, अभिभावक र एपीयूका प्रतिनिधिहरूबीच आपसी अन्तरक्रिया गर्ने अवसर प्रदान गरेको थियो।
