परासी / जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा बरामद गरिएका सामानको अनुमानित मूल्य ११ लाख ९९ हजार ३ सय ७६ रुपैयाँ रहेको छ। बरामद सामानमा बाख्रा, बोइलर कुखुरा, किराना सामग्री, बाँसको डुरी, विद्युतीय सामग्री, वासिङ मेसिनमा प्रयोग हुने पार्टपुर्जा, पटाका, कपडा, मसी, केराउ, पितलका मूर्ति तथा झिलझिले, जुत्ता–चप्पललगायत रहेका छन्।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
